हेटौँडा, जेठ १३ गते ।
त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको थाहा नगरपालिकामा वडा नं. ३ मा यात्रुबाहक बसको ठक्करबाट मृत्यु हुने पैदलयात्रुको संख्या तीनजना पुगेको छ । 

गोपालीगाउँबाट थानाबजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नं. बसले विद्युत प्राधिकरणस्थित सडकखण्डमा सोमबार साँझ ठक्कर दिँदा गम्भीर घाइतेभएका सिराहाका रघुनन्दन यादव काठमाडौँस्थित नेसनल अस्पतालमा उपचारको लागि लगिएकोमा मृत्युभएको इलाका प्रहरी कार्यालय पालुङ मनहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बसको ठक्करबाट थाहा नगरपालिका ९ का वर्ष ४० का कृष्ण बलामी र सप्तरीका वर्ष ४० का लोकेन्द्रकुमार ठाकुरको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचारको क्रममा सोमबार १९ः२५ बजे मृत्यु भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार ठाकुर र बलामीको शब प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा रहेको छ ।
यस्तै दुर्घटनामा घाइतेभएका ३६ वर्षीय कमलेश कुमार साहलाई उपचारको लागि ट्रमा सेन्टर काठमाडौँ पठाईएकोमा हाल बि एण्ड बी अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

जितपुर सिमरा उपमहानगरपालिका १७ बस्ने वर्ष ३२ का छेयाङ दोर्ज लामा र बारा जिल्ला कोल्बी नगरपालिका १ बस्ने वर्ष ३० का रामगुलाम चौधरीको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचारपछि डिस्चार्ज हुनुभएको छ ।

बसको ठक्करबाट मृत्युभएका यादव र साह पालुङस्थित झम्केश्वर माविका शिक्षक हुनुहुन्थ्यो । अर्का मृतक बलामी लेखापढी व्यवसायी हुनुहुन्थ्यो ।

यस्तै घाइते लामा र चौधरी झम्केश्वर माविका शिक्षक हुनुहुन्छ । साह भने मालपोत कार्यालय पालुङमा कार्यालय सहयोगी भएको जनाइएको छ ।

ब्रेक फेल भई सडकमा हिडिरहेका पुरुष व्यक्तिहरुलाई ठक्कर दिई थाहा नगरपालिकाको उपप्रमुख भरत गोपालीको घरभित्र बस पस्न गई दुर्घटना भएको छ ।
बस चालक थाहा नगरपालिका ५ वसन्तका वर्ष २९ का राजेश कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।



