मुजफ्फराबाद (पाकिस्तान), जेठ २९ गते । कश्मीरमा प्रहरी र आन्दोलनरत समूहका सदस्यबिचको झडपमा परि मृत्यु हुनेको सङ्ख्या २० जना पुगेको एएफपीले जनाएको छ ।

आर्थिक र शासन सुधारको माग गर्दै सरकार विरोधी आन्दोलन संयुक्त अवामी एक्सन कमिटी (जेएएसी) का समर्थकले गत हप्ता आतङ्कवाद विरोधी कानुनअन्तर्गत प्रतिबन्ध लगाइएको भए पनि विरोध प्रदर्शनका साथ अगाडि बढिरहेको जनाइएको छ । यस अघि तीन जना सर्वसाधारण र चार जना प्रहरी अधिकारीसहित सात जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको अधिकारीलाई उल्लखे गर्दै एएफपीले जनाएको छ ।

स्थानीय सरकारका शिक्षामन्त्री मलिक जफरले आफ्नो निर्वाचन क्षेत्र कोटलीमा यस हप्ता प्रदर्शनकारी र प्रहरीबिचको झडपमा सात जनाको मृत्यु भएको बताएको एएफपीले जनाएको छ । रावलकोट सहरका शीर्ष नागरिक अधिकारी आयुक्त सरदार वाहिदले चार जना प्रहरी अधिकारीसहित १२ जनाको मृत्यु भएको बताउनुभएको छ ।

मिरपुर सहरका वरिष्ठ प्रहरी अधिकारी खुर्रम इकबालले बुधबार प्रहरीसँग भएको झडपमा एक जना प्रदर्शनकारीको मृत्यु भएको बताउनुभएको छ । मुख्य सहर मुजफ्फराबादका धेरै पसल यस हप्ता जेएएसीले व्यवसाय बन्द गर्न आह्वान गरेको समर्थनमा बन्द भएका छन् भने मोबाइल तथा इन्टरनेटको पहुँच सिमीत गरिएको जनाइएको छ ।




