खासकुरा संवाददाता
हेटौँडा, साउन ११ गते । बागमतीका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री कञ्चन चन्द्र बादेले प्रदेश सरकार गुरुकूल शिक्षाको विकासमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।
हेटौँडा उपमहानगरपालिका १० स्थित संस्कृत वेद विद्यालयको सोमबार अवलोकन निरीक्षणका क्रममा सो कुरा बताउनुभएको हो । उहाँले संस्कृत भाषाको संरक्षण सबैको दायित्व भएको भन्दै शिक्षाको विकासमा तीनै तहको सरकारको समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।
उहाँले संस्कृत वेद विद्यालयको भौतिक पूर्वाधारसँगै प्रविधियुक्त बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको भन्दै विद्यार्थीहरु अनुशासित र मर्यादित हुनुपर्ने बताउनुभयो ।
हेडौँडा उपमहानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष फुर्वा दोर्जे लामाले संस्कृत वेद विद्यालय हामी सबैको साझा सम्पत्ति भएको चर्चा गर्दै यसको विकासमा सबैको योगदान आवश्यक भएको बताउनुभयो । उहाँले गुरुकूल विद्यालयको व्यवस्थापन समितिमा समेत अभिभावक नै व्यवस्थापन समितिमा आउनु पर्छ भन्ने अहिलेको व्यवस्था अव्यवहारिक भएको भन्दै यसमा संशोधन आवश्यक भएको औँल्याउनुभयो ।
सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण थापाले विद्यालयको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।




