मकवानपुरको धियालस्थित युरेनियम खानी क्षेत्रका बासिन्दामा जटिल स्वास्थ्य समस्या

लोकप्रिय

हेटौँडा, जेठ १५ गते ।
मकवानपुरको बकैया गाउँपालिका २ को धियालस्थित युरेनियम खानी क्षेत्रका बासिन्दामा जटिल प्रकृतिको स्वास्थ्य समस्या देखिएको छ ।

बकैया गाउँपालिका २ को मात्र नभएर मकवानपुरको चुरे, शिवालिक भेगका बासिन्दामा देखिएको यो समस्या अहिलेको नभएर दशकौँ अघिदेखिको हो ।

युरेनियमको विकिरणयुक्त पानीकै कारण आफूहरुमा क्यान्सरलगायतका नसर्ने दीर्घ र जटिल खालका रोग देखिएको स्थानीय बासिन्दाको जिकिर छ ।
खानी तथा भूगर्भ विभागको अध्ययनले समेत चुरे भावर क्षेत्रमा युरेनियम रहेको देखाएको छ ।

बकैया गाउँपालिका वडा नं. २ का वडाध्यक्ष विश्वराज स्याङ्तान भूगर्भ विभागको अनुसन्धानले यसक्षेत्रमा युरेनियम पाइने देखाएपनि यसको उचित व्यवस्थापन र संरक्षण हुन नसक्दा स्थानीय बासिन्दाका लागि समस्या बन्दै आएको बताउनुहुन्छ ।
युरनियम खानी क्षेत्रबाट निस्कने पानी प्रयोग गर्दा स्थानीयमा लामो समयपछि क्यान्सरलगायत जटिल प्रकृतिका रोग देखिएको उहाँले बताउनुभयो । अगाडि भन्नुभयो, भन्दा भन्दा थाकिसक्यौ तर सुनुवाई कतैबाट हुँदैन ।

यस्तै स्थानीय बासिन्दा अशोक जिम्बा भन्नुभयो, युरिनियमको खानी भएको क्षेत्रबाट निस्केको पानी खानु हुँदैन भनिन्छ, तर विकल्प छैन ।
खानेपानीको लागि अन्य विकल्प छैन, खानेपानी योजनाको माग गरेको लामो समय भयो तर कतैबाट सुनुवाई भएन उहाँले गुनासो गर्नुभयो ।

धियाल क्षेत्रमा रहेको युरेनियम खानी क्षेत्रबाट निस्कने रेडियोधर्मी गतिशील नदेखिएकाले त्यसबाट निस्कने विकिरणको प्रभाव कम रहेको विभागको दाबी छ ।
खानी तथा भूगर्भ विभागका प्रवक्ता दिनेशकुमार नापित युरिनियम खानी क्षेत्रको अन्वेषण गर्दा रेडियोधर्मी विकिरणको प्रभाव कम देखिएको बताउनुहुन्छ ।
उहाँले अहिले भनिएको स्वास्थ्य समस्या युरिनियम खानीका कारण सिर्जित नभएको भन्दै अन्य कारण हुन सक्ने बताउनुभयो ।
धियाल स्वास्थ्य चौकीका ईञ्चार्ज दिलिपकुमार पण्डित स्थानीय बासिन्दाको शरीर कालो हुनेदेखि हात खुट्टा चिलाउनेलगायतका समस्या लिएर आउनु गरेको बताउनुहुन्छ ।
बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने खानी नजिकका बासिन्दाका समस्याका बारेमा प्रदेश र संघीय सरकारलाई जानकारी गराउँदा पनि सुनुवाई नभएको सुनाउनुभयो । पालिकाको गाउँपरिषद्बाट नै खानीको उचित व्यवस्थापन र स्थानीयको समस्या संवोधन गर्न संघ र प्रदेश सरकारलाई निर्णय गरेर पठाएका छौँ उहाँले भन्नुभयो ।

खानीक्षेत्रमा पुग्नुभएका बागमती प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गंगादत्त नेपालले स्थानीयको समस्या समाधानमा पहल गर्ने बताउनुभयो । उहाँले खानी प्रभावित स्थानीयको समस्याका बारेमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमा राखेर समस्या संवोधनका लागि प्रयास गरिने जानकारी दिनुभयो ।
यो प्रदेशको पनि आम्दानीको हिस्सा हुनसक्छ उहाँले भन्नुभयो, प्रदेश र संघीय सरकारको समन्वयमा युरेनियम खानीको थप अध्ययन, अनुसन्धान र स्थानीयको समस्या समाधानका लागि लाग्नेछौ ।

ताजा समाचार

Related Articles