खासकुरा संवाददाता
हेटौँडा, जेठ १६ गते । मकवानपुर प्रहरी गाँजासहित दोलखाका पिकअप गाडीका चालक अम्मर बहादुर तामाङ नियन्त्रणमा लिएको छ । 

हेटौँडा उपमहानगरपालिका वडा नं. १५ रातोमाटेस्थित चेकपोष्ट अगाडि सडकखण्डमा सवारी साधनहरु जाँच गर्ने क्रममा हेटौँडाबाट कलैयातर्फ जाँदै गरेको बा.प्र.०१–०३०च १०४६ नं.को पिकअप गाडीका चालक दोलखा जिरी नगरपालिका वडा नं. १ बस्ने वर्ष ३२ को तामाङमाथि शंका लागि गाडी समेतको खानतलासी गर्दा गाँजा फेला परेको हो ।

पिकअप गाडीभित्र लुकाई ल्याएको नौ वटा पोकामा १०५ किलो ९०० ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उक्त गाँजा तथा पिकअप गाडी बरामद गरी निज तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाई छ ।




