खासकुरा संवाददाता
हेटौँडा, जेठ १८ गते ।
संघीय कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि र पशुपालनमा अग्रणी बकैया गाउँपालिका अब समृद्ध बकैया बन्दै गरेको बताउनुभएको छ । 
बकैया गाउँपालिका कार्यालयले आइतबार मकवानपुरको बकैया गाउँपालिकाको हात्तीसुँढेमा विश्व दुध दिवस २०२५ को अवसरमा आयोजना गरेको स्वच्छ दुध उत्पादनमा किसानको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले किसानले आफूले उत्पादन गरेको दुधको समयमा भुक्तानी नपाउँदा समस्यामा परेको भन्दै किसानका समस्याप्रति सरकार गम्भीर र संवेदनशील रहेको बताउनुभयो ।

नेपालबाट राँगाभैंसीको मासु निर्यात हुँदै छ । त्यो पालिकामा बकैया गाउँपालिका पनि परेको छ । चार पाँच वर्षपछि यहाँको सबै नागरिकमा ओठ मुस्कान र हासोले भरिने छ उहाँले भन्नुभयो, अब बकैया समृद्ध बन्दै छ । कृषि र पशुपालनका कारण अबको पाँच वर्षभित्रमा तपाईहरुको भविष्य अत्यन्त सुन्दर बन्दै छ, त्यो सुन्दर भविष्यको शुभकामना दिन आफू यहाँ आएको हो उहाँले भन्नुभयो ।

नार्कले कुन जमिनमा कस्तो बाली हुन्छ । त्यो बाली अनुसारको बिउको पहिचान र व्यवस्था गरेको छ भन्दै उहाँले बकैया उत्पादन हुने बाली के होला धान, मकै, गहुँ वा अन्य के बाली हुनसक्छ त्यसको उत्पादन र सिफारिश नार्कले गर्ने बताउनुभयो ।
मन्त्री अधिकारीले भन्नुभयो, म पनि पहाडी जिल्लाको दुर्गम क्षेत्र हो । मेरो तागत पनि छैन काठमाडौँमा बस्ने । त्यहाँ बसिरहँदा भविष्य राम्रो देखेको छैन तर बकैया गाउँपालिकाको भविष्य राम्रो छ । बकैयाको भूमि उर्वर छ । तपाई कोदो, मकै, धान जे लगाएपनि उपयुक्त छ । उहाँले नागरिकको समस्या समाधान गर्ने दायित्व तीनै तहको सरकारको भएको भन्दै तीनै तहको सरकारले मिलेर काम गर्नुपर्ने बताउनुभयो ।

बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले किसानले आफूले उत्पादन गरेको बस्तुको उचित मूल्य नपाउने, समयमा भुक्तानी नहुने, सिँचाइलगायतका समस्या समाधान हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्री, पशु सेवा विभागका महानिर्देशक रामानन्द तिवारी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ, महेश श्रेष्ठ, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का सदस्य विश्वराम खड्कालगायतले दुग्ध उत्पादनका क्षेत्रममा रहेका समस्याका बारेमा बोल्नुभएको थियो ।




