खासकुरा संवाददाता
हेटौँडा, जेठ १९ गते ।
बागमती प्रदेश सभाबाट दुई वटा संशोधन विधेयक पारितभएको छ ।
प्रदेश सभाको सोमबार बसेको बैठकले प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०८२ र प्रादेशिक व्यापार तथा व्यवसायसम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०८२ सर्वसम्मतिले स्वीकृत गरेको हो ।

प्रदेशका उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङले प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०८१ को सम्बन्धमा उद्योग पर्यटन तथा वातावरण समितिले गरेको निर्णयको प्रतिवेदनसहितको विधेयक र प्रादेशिक व्यापार तथा व्यवसायसम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०८१ को सम्बन्धमा उद्योग पर्यटन तथा वातावरण समितिले गरेको निर्णयको प्रतिवेदनसहितको विधेयक छलफलका लागि प्रदेश सभामा पेस गर्नुभएको थियो ।

प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०८१ को सम्बन्धमा उद्योग पर्यटन तथा वातावरण समितिले गरेको निर्णयको प्रतिवेदनसहितको विधेयक माथिको छलफलमा प्रदेश सभा सदस्य रामकृण चित्रकार र प्रदेश सभा सदस्य रत्नप्रसाद ढकालले आफ्नो धारणा राख्नुभएको थियो ।

मन्त्री तामाङले छलफलका उठेका प्रश्नको जवाफ दिँदै ऐन संशोधनले उद्योग व्यवसायको स्थापना र प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने बताउनुभयो ।

यस्तै प्रादेशिक व्यापार तथा व्यवसायसम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०८१ को सम्बन्धमा उद्योग पर्यटन तथा वातावरण समितिले गरेको निर्णयको प्रतिवेदनसहितको विधेयकमाथि छलफलका लागि पेस भएकोमा प्रदेश सभा सदस्यहरुले छलफलमा भाग लिनुभएन ।




