काठमाडौँ, साउन १३ गते। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह मनोनीत हुनुभएको छ । आज बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री समेत रहनुभएका शाहलाई वरिष्ठ नेतामा मनोनीत गर्ने निर्णय गरेको पार्टी महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टी विधानको भाग ६ को धारा २२ को उपधारा ११ (ञ) को बमोजिम पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा शाहलाई सर्वसम्मत रूपमा पार्टीको वरिष्ठ नेता मनोनीत गरिएको हो ।

सुनसरीलगायत जिल्लाका पछिल्ला घटनाक्रमहरूमा परी ज्यान गुमाउनु हुने नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्टी बैठकले शोकाकुल परिवारजनमा रास्वपाले गहिरो समवेदना प्रकट गरेको छ । साथै घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत बैठकले गरेको छ ।

त्यसैगरी बैठकले पार्टी विधानको भाग ६ को धारा २३ बमोजिम ‘पार्टी सचिवालय’ गठन गरेको छ । उक्त सचिवालयमा पार्टी सभापतिसहित निर्वाचित पदाधिकारीहरू उपसभापति द्वय डा स्वर्णिम वाग्ले र सोविता गौतम, महामन्त्री विपिनकुमार आचार्य तथा सह–महामन्त्री त्रय असिम शाह, हरि ढकाल र निशा डाँगी रहनुभएको छ ।




