हेटौँडा, साउन १३ गते । मकवानपुर उद्योग वाणिज्य संघ र आन्तरिक राजश्व कार्यालय हेटौंडाको संयुक्त आयोजनामा एक दिवशीय कर शिक्षा तथा अन्तक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ । संघका अध्यक्ष प्रमोद सिंह रानाभाटको अध्यक्षता तथा आन्तरिक राजश्व कार्यालय हेटौँडाका प्रमुख कर अधिकृत युक्त प्रसाद सुवेदीको प्रमुख प्रशिक्षणमा कार्यक्रम भएको हो । कार्यक्रममा कर अधिकृत धु्रव सिंह घलानले आर्थिक ऐन २०८३ ले व्यवस्था गरेको छुट तथा सहुलियत सम्बन्धी प्रावधानहरु बारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा मउवासंघ अध्यक्षका रानाभाटले आर्थिक ऐनले व्यवस्था गरेको सुविधाहरुको बारेमा उद्योगी÷व्यवसायीहरुलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । प्रमुख कर अधिकृत सुवेदीले हरेक वर्ष आर्थिक ऐनले केही न केही सुविधाको प्रवन्ध गर्ने गरेको भन्दै मकवानपुर जिल्लाको कुल करदातामध्ये आधाभन्दा बढी ननफाइलर रहेकाले कर छुट तथा सहुलियतको व्यवस्थाले त्यस्ता ननफाइलर घटाइ अनौपचारिक व्यावसायिक गतिविधिहरुलाई करको दायरामा ल्याउने र राजश्व संकलनमा सहजता सिर्जना गर्ने बताउनुभयो । संघका वरिष्ठ उपाध्यक्ष दीपक उप्रेती र महासचिव प्रतिमा श्रेष्ठले मन्तव्य राख्नुभएको थियो ।




