हेटौँडा, जेठ २० गते ।
बागमती प्रदेश सभाको मंगलबार बसेको बैठकबाट दुई वटा विधेयक पारितभएको छ ।
प्रदेश कृषि विकास सम्बन्ध व्यवस्था गर्न बनेको विधेयक २०८२ र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०८२ प्रदेश सभाको बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।

यसअघि प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले प्रदेश कृषि विकास सम्बन्ध व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा शिक्षा स्वास्थ्य तथा कृषि समितिले गरेको निर्णयको प्रतिवेदनसहितको विधेयक प्रदेश सभामा छलफलका लागि पेस गर्नुभएको थियो ।

त्यस्तै स्वास्थ्य मन्त्री किरण थापाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०८१ को सम्बन्धमा शिक्षा स्वास्थ्य तथा कृषि समितिले गरेको निर्णयको प्रतिवेदनसहितको विधेयक पेस गर्नुभएको थियो ।
प्रदेश कृषि विकास सम्बन्ध व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा शिक्षा स्वास्थ्य तथा कृषि समितिले गरेको निर्णयको प्रतिवेदनसहितको विधेयकमाथिको छलफलमा सहभागी हुँदै प्रदेश सभाका सदस्य रत्नप्रसाद ढकालले समयमा रासायनिक मल नपाएको बताउनुभयो ।

यस्तै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०८१ को सम्बन्धमा शिक्षा स्वास्थ्य तथा कृषि समितिले गरेको निर्णयको प्रतिवेदनसहितको विधेयकमाथि प्रदेश सभाका सदस्य सुरेन्द्रराज गोसाई
र प्रदेश सभा सदस्य रत्नप्रसाद ढकालले आफ्नो धारणा राख्नुभएको थियो । विधेयकमाथि उठेका प्रश्नको जवाफ मन्त्रीहरुले दिनुभएको थियो ।

यसैगरी प्रदेश सभा बैठकले प्रदेश स्तरको चिठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि प्रदेश मामिला समितिमा पठाएको छ ।

बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले पेस गर्नुभएको प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो ।




