खासकुरा संवाददाता
हेटौँडा, जेठ २१ गते ।
मकवानपुरको कैलाश गाउँपालिकाका विभिन्न तहका विद्यालयहरुको अनुगमन सुरु भएको छ । शैक्षिक सत्र सुरु भएसँगै गाउँपालिकाले अनुगमनलाई तीव्रता दिएको हो ।

गाउँ शिक्षा समितिका संयोजकसमेत रहनुभएका गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले विगतका वर्षहरुझै यसवर्ष पनि विद्यालयहरुको वास्तविक अवस्थाबारे जानकारी लिन अनुगमनको पाटोलाई तीव्रता दिइएको बताउनुभयो ।

शैक्षिक सत्र सुरु भयो, विद्यालयमा विद्यार्थी र शिक्षकहरुको उपस्थितीका साथै भर्ना अभियानको अवस्थाबारे जानकारी लिनको लागि अनुगमन गरेका हौं, अध्यक्ष मुक्तानले भन्नुभयो भौगोलिक विकटताले गर्दा गाउँमा शिक्षक अभाव थियो । पछिल्लो समय शिक्षा सेवा आयोगबाट नयाँ शिक्षकहरु आउनुभएको छ, विद्यालयमा शिक्षकको उपस्थितले विद्यार्थीहरुमा उत्साह बढेको छ ।

गाउँपालिकाका स्रोत शिक्षक ध्रवराज विष्टले कैलाश ३, ४, ९ र १० वडामा अवस्थित विभिन्न तहका १२ वटा विद्यालयको वस्तुस्थिति अनुगमन गर्नुभएको हो ।
विद्यालयमा नयाँ शिक्षकहरुको आगमनले गर्दा विद्यार्थीहरुमा छुट्टै खालको उत्साह छाएको भन्दै उहाँले विद्यार्थी संख्या अति न्यून भएका विद्यालयहरुलाई मर्ज गर्नुपर्ने र विद्यार्थी बढी भएका तथा भौगोलिक रुपमा केन्द्रमा रहेका विद्यालयको कक्षा तह वृद्धि गरिनुपर्ने बताउनुभयो ।

अनुगमनको क्रममा विद्यार्थीहरुको समस्यालाई मध्येनजर गर्दै आवासीय विद्यालयको व्यवस्था गरिनुपर्ने अबको आवश्यकता रहेको देखिन्छ । अन्य वडाको अनुगमनको क्रम जारी रहेकाले गाउँपालिकामा शिक्षा क्षेत्रको विकासमा लगानी भइरहेको अवस्थामा विषयगत शिक्षक दरबन्दी अभावले पठनपाठनमा झनै समस्या देखिरहेको उहाँले बताउनुभयो ।

विद्यालयमा विद्यार्थी भर्ना र नियमित उपस्थितिलाई सुनिश्चित गर्न विद्यालय प्रशासन, व्यवस्थापन समिति र सम्बन्धित वडालाई गाउँ शिक्षा समितिले आग्रह गरेको छ । पछिल्लो समय स्थानीय सरकारले कैलाशको विद्यालय शिक्षाबारे विशेष चासो राख्दै विद्यालयहरुको नियमित रुपमा अनुगमन, त्यहाँ भएका समस्या र समस्याको समाधान गर्दै आइरहेको छ ।




