काठमाडौँ, जेठ २२ गते । प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित भएको छ।

विपक्षी दलहरुले विरोध जारी राखेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको घोषणा सभामुख देवराज घिमिरेले गर्नुभएको हो ।

आज पटक पटक समय सारेर करिव ५ बजेर ३० मिनेट जाँदा बैठक सुरु भएको थियो । बैठक सुरु हुनासाथ विपक्षी दलहरुले उठेर विरोध जनाएका थिए ।

सभामुख घिमिरेले पटक पटक बैठक सुचारु गर्न आग्रह गरेपनि नमानेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको हो । आज सत्ता पक्षका सांसदहरुले पनि उठेर बैठक संचालन गर्न आग्रह गर्नुभएको थियो ।

समसामयिक र बजेट माथि छलफल गर्न नपाइएको भन्दै संसदलाई बन्धक बनाउन नपाउने तर्क सत्ता पक्षीय सांसदहरुको थियो ।




