चितवन, जेठ २२ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले विपद्पछि कम क्षति होस् भनेर उद्धारलाई प्रभावकारी बनाउन प्रदेश सरकार लागेको बताउनुभएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा देवघाटस्थित नारायणी नदी किनारमा बिहीबार नेपाली सेनाको नेतृत्वमा भएको संयुक्त कृत्रिम उद्धार अभ्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले विपद् न्यूनीकरण र विपद्पछिको उद्धारका लागि प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो ।

बागमती प्रदेश त अझै विपद्को उच्च जोखिममा रहेको प्रदेश भएको भन्दै उहाँले विपद्बाट कसरी कम क्षति गर्न सकिन्छ भनेर उद्धारलगायतका कामलाई प्रभावकारी बनाउन लागेको बताउनुबताउनुभयो ।

उहाँले विपद् बाट हुने क्षति न्यूनीकरणकालागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायत सरोकार निकायहरू संयुक्त रूपमा खटिनुपर्ने बताउनु हुँदै क्षति न्यूनीकरणतर्फ ध्यान दिन निर्देशन दिनुभयो ।
विपद्को व्यवस्थापन चुनौति पूर्ण रहेको उहाँले बताउनुभयो ।

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछानेले बागमती प्रदेश विपद्का दृष्टिले जोखिमपूर्ण प्रदेश रहेको बताउनुभयो ।
“मनसुनजन्य जोखिमको प्रभाव यस प्रदेशमा बढी छ । यसबाट हुने क्षति न्यूनीकरणमा अहिलेदेखि लाग्नु आवश्यक छ”, उहाँले भन्नुभयो ।

नेपाली सेनाको मध्य पृतना हेटौँडाका पृतनापति हरेन्द्र पाठकले प्राकृतिक प्रकोप कसैको नियन्त्रणमा नभएकाले यसको व्यवस्थापन चुनौती बन्दै आएको बताउनुभयो ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस र नेपाल स्काउटका दुई सय जना उद्धार अभ्यासमा सहभागी भएका थिए ।




