खासकुरा संवाददाता
हेटौँडा, जेठ २२ गते । मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले गाउँपालिकाभित्र खानेपानी क्षेत्रमा काम गर्ने विभिन्न साझेदारी संस्थासँग सहकार्य गरेर खानेपानी र सरसफाइको क्षेत्रमा काम गरिने बताउनुभएको छ ।

गाउँपालिकामा बिहीबार आयोजित खानेपानी तथा पूर्ण सरसफाई अभिमुखीकरण गोष्ठीमा दीगो विकास लक्ष्य अनुसार सुरक्षित स्रोत, प्रयोग गरिने स्थानको उपलब्धता र आवश्यकता अनुसार प्रर्याप्त पानीका स्रोत भएमात्रै घरघरमा पानी लान सकिने बताउनुभयो ।

स्वस्थ जीवनका लागि हामीलाई सफा पानी भन्दा पनि सुरक्षित पानी आवश्यक पर्दछ, मानव स्वास्थ्यलाई हानी गर्ने भौतिक, जैविक र रासायनिक पदार्थ नभएको पानी हामीलाई आवश्यक हो, अध्यक्ष मुक्तानले भन्नुभयो ।

सीमान्तकृत वर्ग, जनजातीहरुको बाहुल्यता रहेको कैलाशका नागरिकमा चेतनाको कमी रहेको अवस्थामा टोलबाटै सचेतना जगाउनु पर्नेमा उहाँले जोड दिनुभयो । खुल्ला दिसामुक्त राष्ट्र हो तर विडम्बना कैलाशमा करिब ४६ प्रतिशतको घरमा शौचालय छैन । मानिसमा चेतनाको विकास नै भएन, बालबालिकालाई सजिलै चेतना जगाउन सकिन्छ तर वयश्कलाई नसकिने अध्यक्ष मुक्तानले भन्नुभयो ।

शान्ति नेपाल संस्थाका संस्थापक अध्यक्ष डा. कृष्णमान श्रेष्ठले पूर्ण सरसफाईका सूचक, खानेपानी सरसफाई र स्वच्छताका असरहरु, पानीबाट लाग्ने विभिन्न रोगहरु, पानी शुद्धिकरणका घरेलु विधि, दीगो विकास लक्ष्यको १७ वटा लक्ष्यमध्ये ६ नम्बरमा रहेको स्वच्छ पिउने पानी तथा सरसफाईका विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल, वडा नम्बर १ का वडाध्यक्ष तेजबहादुर ब्लोन, ४ का वडाध्यक्ष तिलकबहादुर मुक्तान, ७ का वडाध्यक्ष उदास ब्लोन, ८ का वडाध्यक्ष आशिष प्रजा, ९ का वडाध्यक्ष भूवसिं घलान, १० का वडाध्यक्ष सूर्यबहादुर ब्लोन, कार्यपालिका सदस्यहरु गोरीमाया भुलुन, सुन्तली सुनुवार, राममाया प्रजा, शान्ति नेपाललगायतको उपस्थिति रहेको थियो ।




