खासकुरा संवाददाता
हेटौँडा, जेठ २४ गते ।
मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १ को केउरेनी–धुसा र वडा नम्बर ६ का पकनीक्षेत्रका समूदायलाई पूर्ण सरसफाई उन्मूख तथा सुरक्षित खानेपानीयुक्त समूदाय घोषणा गरिएको छ ।

गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले पूर्ण सरसफाई उन्मूख तथा सुरक्षित खानेपानीयुक्त समूदाय घोषणा गर्दै राज्यको एक घर, एक धारा नीति अनुरुप साझेदारी संस्थाहरुको सहकार्यमा सरसफाई र खानेपानीको क्षेत्रमा प्रत्येकको घरघरमा धारा र सुरक्षित खानेपानीको कार्यलाई तीव्रता दिइएको बताउनुभयो । हामीले अन्य वडाहरुमा पनि घोषणा गर्दै आइरहेका छौं, सूचकहरु पुरा भएका अन्य समूदाय घोषणाको तयारीमा रहेको अध्यक्ष मुक्तानको भनाई छ ।

घरघरमा सुरक्षित पानी पु¥याउने लक्ष्य हाम्रो छ, प्राथमिकताको आधारमा खानेपानीको योजनाहरु कार्यान्वयन गर्नेछौं, अध्यक्ष मुक्तानले भन्नुभयो, पानीका मुहानको बीमाका साथै संरक्षणका लागि गाउँपालिकाले नीति र कार्यक्रम ल्याउने छ ।

वडा नम्बर १ का वडाध्यक्ष तेजबहादुर ब्लोनको अध्यक्षतामा भएको कार्यक्रममा केउरेनी–धुसा समूदायको घोषणा गरिएको थियो । उहाँले घोषणा सँगै धारा र शौचालय सरसफाईमा ध्यान दिदैँ फिल्टर प्रयोग गरेर पानीको प्रयोग गर्न आग्रह गर्नुभयो ।
केउरेनी–धुसा टोलमा ७८ घरधुरीमा धारा जडान गरिएको छ । त्यस्तै, वडा नम्बर ६ का वडाध्यक्ष रामबहादुर गोम्बाको अध्यक्षतामा पकनीका बाहुनगाउँ हट्टेटोललाई घोषणा गरिएको थियो । घोषणासँगै मुहान, पाइप, धारा, ट्याङ्की संरक्षण, सरसफाइका साथै ममर्त कार्यमा पनि समूदायले चासो राख्नुपर्ने कार्यक्रममा बताइएको थियो । ८७ घरधुरीमा धारासहित फिल्टर प्रदान गरिएको छ ।

आगामी दिनमा अर्को टोललाई यसरी नै सुरक्षित खानेपानीको लागि काम गर्ने वडाध्यक्ष गोम्बाले बताउनुभयो । यसअघि कैलाशका विभिन्न वडाका सात वटा समूदाय घोषणा भइसकेका छन् ।




