पर्यटन विकासमा सहयोग गर्न तयार छौँ : राजदूत पार्क

लोकप्रिय

काठमाडौँ, भदौ १५ गते ।

नेपालका लागि दक्षिण कोरियाका राजदूत ताय–योङ पार्कले नेपालको पर्यटन क्षेत्रको विकासका लागि आफूहरु तयार रहेको बताउनुभएको छ । 

कोरियन टुर एण्ड ट्रेकिङ अपरेटर एसोसिएसन अफ नेपाल (कोटान)को आयोजना तथा दक्षिण कोरियाली राजदूतावासको सहयोग र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा कोरियाली पर्यटकको खानपिन, सुरक्षा र उद्दारसम्बन्धी आज यहाँ आयोजित एक दिवसीय तालिमका अवसरमा उहाँले नेपालमा कोरियाबाट पर्यटक ल्याउनका लागि सहयोग गर्न आफूहरु तयार रहेको बताउनुभयो । 

“आउँदा दिनमा नेपाल आउने कोरियन पर्यटकहरुको सङ्ख्या अझै बढ्ने विश्वास लिएको छु । नेपालको पर्यटन क्षेत्रको विकास तथा कोरियन पर्यटक भित्रयाउनका लागि सहकार्य र सहयोग गर्न तयार छौँ”, उहाँले भन्नुभयो । 

सन् २०२४ नेपाल कोरिया दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पुग्दै छ । 

कोरियामा बिदाको समयमा साना–साना पहाड तिर पदयात्रामा जाने चलन बढ्दो रहेको भन्दै राजदूत पार्कले भन्नुभयो, “नेपालमा पदयात्राका लागि पदमार्गहरु धेरै भएकाले पनि कोरियन पर्यटकहरु नेपालमा बढ्ने विश्वास लिएको छु ।” यसका लागि कोटानसँग सहकार्य र सहयोग रहने उहाँको भनाइ छ । 

कोटानका अध्यक्ष अमरबहादुर शाहीले सङ्घमा आबद्ध ट्राभल र ट्रेकिङ कम्पनीका कर्मचारीलाई कोरियन पर्यटकहरुलाई कसरी स्वस्थकर खानपिनको व्यवस्था गर्ने र पदयात्रामा जाँदा हुनसक्ने सम्भावित समस्यालाई कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा तालिमको आयोजना गरिएको जानकारी दिनुभयो । 

“नेपालको पर्यटकको प्रमुख स्रोत मुलुकमध्ये दक्षिण कोरिया पनि एक हो, उक्त देशबाट आउने पर्यटकहरुलाई स्तरीय सेवा दिनका लागि पनि यो तालिम गर्न आवश्यक थियो”, उहाँले भन्नुभयो ।

कोरियन पर्यटकलाई नेपालमा सेवा दिन नेपालस्थित ट्रेकिङ एण्ड ट्राभल कम्पनीमा कार्यरत गाइड, कुक र सहायक गाइड गरी एकसयभन्दा बढी तालिममा सहभागी छन् । 

ताजा समाचार

Related Articles