माओवादी केन्द्रको तीन महिने अभियान सुरु

लोकप्रिय

काठमाडौँ, भदौ १६ गते ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को सुरुवात गर्नुभएको छ । प्रधानमन्त्री दाहालले माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट पार्टीको तीन महिने अभियानको भर्चुअल रूपमा उद्घाटन गर्नुभएकाे हो ।

अभियान उद्घाटन गर्नुहुँदै अध्यक्ष दाहालले अभियानका क्रममा जनताका घरदैलोमा पुगेर उनीहरूका समस्या सुन्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले माओवादीको जनतासँगको सम्बन्ध कमजोर भएकाले आफ्ना कमीकमजोरीप्रति आत्मालोचित हुँदै अब सुध्रिने वाचा गर्न पनि कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो ।

हेर्नुहोस् सम्बोधनको पूर्णपाठ :

समाजवादको आधार तयार पार्न निश्चित योजनासहित सबै नेता तथा कार्यकर्ता जनतासँग जोडिएर उत्पादन कार्यमा सहभागी हुनुका साथै सामूहिक रूपमा, विचार, संस्कृति र समाजवाद निर्माणको विषयमा गम्भीर बहस छलफलको प्रक्रियाबाट अगाडि बढ्न पनि त्यत्ति नै जरुरी छ, अभियानका क्रममा हामीले सबै जनताका घरमा पुग्ने योजना निर्माण गरेका छौँ।

यसको अर्थ हामी लाखौँ जनतासम्म पुग्नेछौँ। जनताका कुरा सुन्नेछौँ। जनताको सुझाव र आलोचना ग्रहण गर्नेछौँ। हिजो अत्यन्तै भीषण संघर्षका कठिन क्षणमा हामीलाई जनताले विश्वास गरेर साथ दिएकै कारण हाम्रो आन्दोलनले सफलता प्राप्त गरेको हो। आज जनतासँगको सम्बन्ध कमजोर भएको स्थिति छ।

र, बिर्सनै नहुने कुरा के हो भने जनता परिवर्तनकै पक्षमा छन्। जनता समृद्धि चाहन्छन्, र, जनता सुशासन चाहन्छन्। अनि योसँगै हामीले जनतालाई विश्वास दिलाउनुपर्दछ– नेपाली समाजको परिवर्तन र रूपान्तरण माओवादीले नै गर्नसक्छ। माओवादीकै नेतृत्वमा मात्र समृद्ध नेपाल सम्भव छ। तसर्थ कमरेडहरू जनतासँग हामीले भन्न सक्नुपर्छ– हाम्रा गल्ती-कमजोरीका लागि आत्मालोचित हुन चाहन्छौँ। सुध्रिन चाहन्छौँ। त्यसका लागि अभियानसहित तपाईंहरूको घरदैलोमा छौँ।  

ताजा समाचार

Related Articles