हेटौँडा, असार ४ गते । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नं. १६ गौरीटार रंगशालास्थित दामोदार चौलागाईँको गाईगोठबाट जुवा तास खेलीरहेको अवस्थामा पाँच जना पक्राउ गरेको छ ।

पैसाको हारजित हुने गरी जुवा तास खेली खेलाई रहेको अवस्थामा प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो ।

प्रहरीले वर्ष ४५ को दामोदार चौलागाई, वर्ष २९ को विश्व स्याङ्तान, वर्ष २९ को सुदीप पोख्रेल, वर्ष २९ को प्रदीप ओझा र वर्ष ५२ को बहादुर थिङ काठको खाट माथि खाल राखी पैसाको हारजित हुने गरी जुवा तास खेली खेलाई रहेको अवस्थामा सात बुक तास, नगद ८१ हजार ३९० रुपियाँ र गोट्टीसहितको काठको लुडो समेत फेला पारेको जनाएको छ ।

उक्त नगद तथा सात बुक तास बरामद गरी निजहरुलाई नियन्त्रणमा लिइ जुवा सम्बन्धी कसुर मुद्धामा जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट सात दिनको म्याद अनुमती लिई थप अनुसन्धान तथा कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।




