लागू पदार्थ सेवन न्यूनीकरणमा मन्त्रालय सक्रिय हुन्छ: स्वास्थ्य मन्त्री थापा

लोकप्रिय

हेटौँडा, असार २० गते । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले पछिल्लो समय समाजमा लागूपदार्थ सेवन गर्नेहरूको संख्या तीव्र गतिमा बढ्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसको न्यूनीकरणका लागि स्वास्थ्य मन्त्रालय सक्रिय रूपमा लाग्ने बताउनुभएको छ।

“एउटा व्यक्तिको कुलतले घर, परिवार र समाज नै कलङ्कित हुन्छ,” मन्त्री थापाले भन्नुभयो। शुक्रबार लागू औषध सेवन परिक्षण कीट हस्तान्तरण कार्यक्रममा बोल्दै लागू पदार्थको समस्या केवल चालक वा विशेष वर्गको मात्र नभई सम्पूर्णको रहेको बताउनुभयो । “हामीले चालकहरूलाई मात्र होइन, समाजलाई नै लक्षित गरी चेतना अभिवृद्धि तथा सुधार कार्यक्रम अघि बढाउनुपर्छ,” मन्त्री थापाले भन्नुभयो ।

लागू वा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने चालकहरूको सवारी अनुमतिपत्र (लाइसेन्स) खारेजको प्रक्रिया सम्बन्धित मन्त्रालयहरुको समन्वयमा अगाडि बढाउने विषयमा छलफल भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले कुलत नियन्त्रणका लागि वर्षैभरि लागू र मादक पदार्थ सेवन परीक्षण कार्यक्रम चलाउनुपर्नेमा जोड दिनुभयो। “जनचेतना अभियान निरन्तर हुनुपर्छ।
लागूपदार्थमा फसेपछि त्यसबाट निस्कन गाह्रो हुन्छ, त्यसैले समयमै रोकथाममा ध्यान दिनुपर्छ,” उहाँको भनाइ थियो।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामपुर चितवनका प्रहरी उपरीक्षक (एसपी) नरेश सुवेदीले लागूपदार्थ प्रयोगबाट हुने दुर्घटना र आपराधिक गतिविधि बढेको जानकारी दिनुभयो। “सवारी चालकमा लागूपदार्थ सेवन गरेको अवस्थामा दुर्घटनाको जोखिम धेरै हुन्छ। किशोर तथा युवाहरू बढी जोखिममा छन्, एम्बुलेन्स चालकहरू समेत यसमा संलग्न पाइएका छन्,” सुवेदीले भन्नुभयो।

स्वास्थ्य मन्त्रालयले सडक दुर्घटना न्यूनीकरण तथा लागू पदार्थको सेवन नियन्त्रण गर्न एक हजार ३४० थान लागूपदार्थ सेवन परीक्षण किट ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको छ ।

ताजा समाचार

Related Articles