हेटौँडा, असार २५ गते । नेपाल–चीन सीमानाका भएर बग्ने रसुवाको ल्हेन्देखोलामा अकस्मात् आएको भीषण बाढीपछि बाढीमा परी बेपत्ता भएकाहरुको खोज र उद्धारसहित राहतका लागि ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले बाढीमा परेकाहरुको खोज एवं उद्धार कार्यको लागि विभिन्न जिल्लामा एक हजार २५५ जना प्रहरी परिचालन गरिएको जनाएको छ ।
त्रिशुली र नारायणी नदीको तटीय क्षेत्रमा बस्ने, काम गर्ने वा आवतजावत गर्ने व्यक्तिहरूले सजगता अपनाउन समेत अनुरोध गरिएको छ ।

प्रदेश प्रहरी कार्यालय, हेटौँडाका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक संजय सिंह थापाले उहाँले उद्धारको लागि जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्रहरी निरीक्षक कृष्णबहादुर धितालको कमाण्डमा २८ जना, इलाका प्रहरी टिमुरे रसुवा २० जना, प्रहरी चौकी रसुवागढीबाट १२ जना, प्रहरी चौकी स्याफ्रुबेशीबाट आठ जना, प्रहरी चौकी हाकुबाट सात जना अस्थायी प्रहरी पोष्ट मैलुङबाट नौ जना र प्रहरी चौकी बेत्रावतीबाट १० जना गरी ८६ जना प्रहरी कर्मचारी परिचालन गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार दुई वटा हेलिकप्टर सहितको टोलीद्वारा उद्धार कार्य जारी रहेको ।
साथै बागमती प्रदेश अन्तर्गतका नुवाकोट, धादिङ्ग चितवन तथा गण्डकी प्रदेशको गोरखा, तनहुँ र पश्चिम नवलपरासी जिल्लामा बग्ने नारायणी नदीको तल्लो तटिय क्षेत्रमा बस्ने वा काम गर्न आवतजावत गर्ने व्यक्तिहरुलाई हटाउने, सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरुबाट माईकिङ गर्दै जानकारी गराउने कार्य भईरहेको छ ।




