खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन निर्देशन

लोकप्रिय

काठमाडौँ, असार २४ गते । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको आकस्मिक बाढीबाट भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै बेपत्ता स्वदेशी र विदेशी व्यक्तिको खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज साँझ बसेको परिषद्को १८ औं बैठकले नेपाल-चीन जोड्ने मितेरी पुल बगाई आवागमन बन्द भएकाले पुल र सडक पुनर्निर्माण गरी केरुङ नाका सञ्चालन गर्न परराष्ट्र मन्त्रालयमार्फत् मित्रराष्ट्र चीनसँग समन्वय गर्ने निर्णय गरेको छ।
साथै, बैठकले सडक पूर्वाधार, भन्सार, अध्यागमन, जलविद्युत् आयोजनाका पूर्वाधारको शीघ्र मर्मत गरी सञ्चालनको व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन पनि दिएको छ।
परिषद्ले विपद्को कारण पहिचानका लागि आवश्यक अध्ययन गर्न मित्रराष्ट्र चीनको सरोकारवाला निकायसँग समन्वयको व्यवस्था मिलाउन सरोकारवाला निकायलाई निर्देशन दिने निर्णय पनि गरेको छ।
प्रधानमन्त्री ओलीले चीनसँगको मुख्य नाका अबरुद्ध भएकोले वैकल्पिक नाकाहरूको सञ्चालनका लागि आवश्यक तयारी गर्न निर्देशन दिनुभयो।
परिषद्ले मृतक र बेपत्ताका परिवारलाई प्रचलित कानुन अनुसार तत्काल राहत उपलब्ध गराउने र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णय पनि गरेको छ।

ताजा समाचार

Related Articles