खासकुरा संवाददाता
हेटौँडा, असार २५ गते ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ बुधबार साँझ बेलायत प्रस्थान गर्नुभएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मुख्यमन्त्री लामा व्यक्तिगत कामको सिलसिलामा बेलायत प्रस्थान गर्नुभएको हो ।

मुख्यमन्त्री लामा निजी कार्यक्रमको शिलसिलामा कतार एयरवेजको जहाज मार्फत बुधबार साँझ ६ः०० बजे बेलायत प्रस्थान गर्नुभएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
यसैबिच मुख्यमन्त्री लामाले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठलाई दिनुभएको छ ।

मुख्यमन्त्री लामा असार २५ गते बुधबारदेखि फर्की नआएसम्मका लागि मन्त्री श्रेष्ठलाई मुख्यमन्त्री लामाको सिफारिशमा कार्यवाहक मुख्यमन्त्री बागमती प्रदेशका प्रदेश प्रमुखले तोक्नुभएको हो । प्रदेश सरकार बागमती प्रदेश (कार्य सम्पादन) नियमाली २०७४ को नियम १४ को उपनियम ३ बमोजिम कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोकिएको हो ।
मुख्यमन्त्री लामालाई बिदाई गर्न मन्त्री श्रेष्ठलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो ।

मुख्यमन्त्री लामालाई बिदाई गर्न मन्त्री श्रेष्ठ, भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्के, वन तथा वातावारणमन्त्री कृष्णप्रसाद सिलवाल, प्रदेश सभा सदस्य कृष्णकुमार तामाङ, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गंगादत्त नेपाल, आयोगका सदस्य गुणराज मुक्तान, मुख्यमन्त्रीमा प्रमुख राजनीतिक सल्लाहकार विनोद शाहलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो ।




