गोरखा, असार २८ गते । नेपाली सेनाद्वारा गोरखा सदरमुकाममा रहेको ऐतिहासिक पोखरीको सरसफाई काम सम्पन्न भएको छ । सेनाका जवानरुले गोरखा नगरपालिका–६ को पुष्कर तिर्थ परिषरमा रहेको रानी पोखरीको सरसफाई गरेको हो ।

लामो समयसम्म पनि स्थनिय र सरोकारवालाहरुले पोखरीको सरसफाई गर्न नसकेपछि श्री रुद्व ध्वज गणका जवानहरुले सरसफाई गरिदिएका हुन् । तत्कालीन गोरखाका राजा रामशाहले ७ वटा समुन्द्र र १०८ वटा तीर्थ स्थलबाट जल ल्याई पोखरीमा राखेर पुष्करतीर्थ निर्माण गरेका थिए ।

राजा रामशाहले उक्त पोखरी आफ्नो रानीको लागि बनाएको हुँदा पोखरीको नाम ‘रानी पोखरी’ राखिएको इतिहासमा पढन पाइन्छ । पुष्करतीर्थमा गणेश, विण्णु, शिव, लक्ष्मी, सूर्य र बासुकी देवीदेवताहरु रहेका छन् ।

पोखरीसँगै रहेको स्थानमा पछिल्लो राजा पृथ्वीपती शाहले भारतको लखनउबाट कालिगढ झिकाएर विण्णु पाञ्चायन मन्दिर निर्माण गरी आफ्नो शालिक समेत राख्न लगाएका थिए ।

सामान्यतया पोखरीमा हरियो लेउ लाग्ने भएता पनि पुष्कर तिर्थमा कहिलेकाही रातो लेउ देखिने गर्दछ । यसरी रातो लेउ देखिएमा राज परिवारमा संकट आउने बुढा पुरानाहरुले बताउने गर्दछन् ।
