काठमाडौं, असार २८ गते । भारतको अहमदावादमा एक महिनाअघि खसेको बोइङ विमानको इन्धनका दुवै स्वीच चालकले अफ गरेको आवाज भेटिएको छ । दुर्घटना जाँच सम्बन्धी प्रारम्भिक प्रतिवेदनमा सो तथ्य सार्वजनिक गरिएको हो ।

विमान उड्नासाथ चालकले एउटा स्वीच अफ गरेको र त्यसको चार सेकेण्डमा अर्को स्वीच पनि अफ गरेको भेटिएको हो । इन्धनको स्वीच अफ भएपछि इन्जिन बन्द हुन गै विमान खसेको प्रतिवेदनमा जनाइएको छ ।

सो समयमा सहचालकले विमान उडाइरहेका र क्याप्टेनले निगरानी गरिरहेका थिए । एक चालकले इन्धनको स्वीच किन अफ गरेको भनी प्रश्न गरेको आवाज ककपिट भोइस डेटा रेर्कडरमा भेटिएको हो ।

पहिलो स्वीच् अफ गरेको चार सेकेण्डमा अर्को स्वीच समेत चालकले अफ गरेकोमा अर्को चालकले प्रश्न गरेको आवाज रेकर्डेड छ । तर अर्को चालकले भने आफूले त्यसो नगरेको जवाफ दिएको पनि रेकर्ड भएको छ । ककपिटमा दुई चालक रहेका थिए ।

विमान खस्दा विमानका २ सय ६० जनाको मृत्यु भएको थियो भने एक यात्रु जीवितै फेला परेका थिए । दुई चालकको कुराकानी सुन्दा चालकले जानीजानी इन्धनको स्वीच अफ गरेको हो वा बोइङ विमान नै असुरक्षित हो भन्ने विषयमा संसारभर बहस शुरु भएको छ ।
