हेटौँडा, साउन ९ गते । बागमती प्रदेशमा मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ नेतृत्वका सरकारका मन्त्रीहरुले पदबाट राजीनामा दिएका छन् ।
नेपाली कांग्रेसबाट मन्त्री बनेका तीन मन्त्रीले शुक्रबार पदबाट राजीनामा दिएका हुन् ।
नेपाली कांग्रेसबाट मन्त्री बनेको संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन शुक्रबार मुख्यमन्त्री लामासमक्ष राजीनामा दिनुभएको हो ।
तीनै जना मन्त्रीले आफूले मन्त्री पदबाट राजीनामा दिएको बताउनुभयो ।
उता आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानले समेत राजीनामा दिएको सार्वजनिक भएपनि मन्त्री लामिछानेले मुख्यमन्त्रीसँग भेट गरेपछि मात्र टुङ्गो लाग्ने बताउनुभयो । मन्त्री लामिछाने रामेछापमा कार्यक्रममा सहभागी भएर फर्कदै हुनुहुन्छ ।
राजीनामा दिएका मन्त्रीहरुले विविध कारणले निरन्तर आफ्नो जिम्मेवारी वहन गर्न सक्ने अवस्था नरहेको भन्दै आजैको मितिबाट लागू हुने गरी राजीनामा दिएको मुख्यमन्त्रीसमक्ष दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
मन्त्रीहरुको राजीनामा सँगै कांग्रेस संसदीय दलको नेताबाट लामालाई हटाउन अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरिएको जनाइएको छ ।
कांग्रेसका संसदीय दलका नेता लामाको नेतृत्वमा एक वर्षअघि नेकपा एमालेसहितका गठबन्धनको सरकार बनेको थियो ।




