खासकुरा संवाददाता
हेटौँडा, साउन १४ गते । नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित हुनु भएको छ ।
संसदीय दलको नेताका लागि बागमती प्रदेश सभा परिसरमा बुधबार भएको निर्वाचनमा बानियाँ २२ मतसहित निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धि मुख्यमन्त्रीसमेत रहनुभएका बहादुर सिंह लामा तामाङले १४ मत प्राप्त गर्नुभयो ।
एक मत बदर भएको निर्वाचन संयोजक हरिशरण श्रेष्ठले जानकारी दिनुभयो । बागमती प्रदेश सभामा नेपाली कांग्रेसका ३७ जना सांसद छन्।
बानियाँकै नेतृत्वमा संसदीय दलका तत्कालीन नेता लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । उक्त प्रस्तावमाथि मंगलबार हस्ताक्षरसहित भएको मत विभाजनमा बहुमतले पारित भएको थियो ।
बानियाँ कांग्रेस संसदीय दलको नेतामा दोस्रो प्रयासमा निर्वाचित हुनुभएको हो । २०७९ सालमा भएको निर्वाचनमा बानियाँलाई पराजित गर्दै लामा संसदीय दलको नेतामा निर्वाचित हुनुभएको थियो । त्यतिबेला लामाले २१ र बानियाँले १६ मत प्राप्त गर्नुभएको थियो । लामा कांग्रेसका केन्द्रीय सदस्य र बानियाँ कांग्रेसको बागमती प्रदेश समितिमा सभापति हुनुहुन्छ ।




