प्रधानमन्त्री प्रचण्ड असोज ५ गते चीन जानुहुने

लोकप्रिय

काठमाडौँ, भदौ २१ गते

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असोज ४ गते संयुक्त राष्ट्र संघको ७८ औं महासभालाई सम्बोधन गर्नुहुने भएको छ ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डको आसन्न विदेश भ्रमणको कार्यसूचीबारे जानकारी गराउँदै परराष्ट्र मन्त्री एनपी साउदले प्रधामन्त्री प्रचण्डको नेतृत्वमा रहने टोली न्युयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा हुने महासभामा भाग लिन भदौ ३० गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

नेपाली प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्री एनपी साउद, प्रधानमन्त्रीका राजनीति सल्लाहकार हरिबोल गजुरेल, मुख्य सचिव, परराष्ट्र सचिव, सञ्चारकर्मी लगायतको सहभागीता रहने छ ।

अमेरिकामा रहँदा प्रधानमन्त्री दाहालले दीगो विकास लक्ष्य सम्मेलन, क्लाइमेट एम्बिसन समिटलगायतका कार्यक्रममा समेत सहभागी हुने कार्यक्रममा तय भएको परराष्ट्रमन्त्री साउदले जानकारी दिनुभयो ।

महासभा चलिरहँदा प्रधानमन्त्री दाहालले विभिन्न देशका समकक्षी तथा प्रतिनिधि मण्डलसँग साइडलाइन भेटवार्ता गर्ने समेत बताउनुभयो । परराष्ट्रमन्त्री साउदका अनुसार असोज ५ गते न्युयोर्कबाटै उहाँहरु चीन भ्रमणमा जाने कार्यक्रम तय भएको छ ।

समितिका सभापति राजकिशोर यादवले स्पष्ट एजेण्डा तय गरेर मात्र विदेश भ्रमणमा जान र त्यसबारेमा समितिलाई जानकारी दिन निर्देशन दिनुभएको छ ।

ताजा समाचार

Related Articles