हेटौँडा, असार ३० गते । हेटौँडा उपमहानगरपालिका १७ हटियास्थित शिवम् सिमेण्ट उद्योग लिमिटेड नजिकै रहेको कर्रा खोलामा आएको बाढीले बगाएको ट्रक खोलाबाट निकालिएको छ ।
सोमबार बिहान कर्रा खोलामा आएको बाढीले बगाएको ना ७ ख ७६५ नम्बरको १२ चक्के आइचर ट्रक मङ्गलबार दिउँसो उपकरणको सहयोगमा निकालिएको हो ।
सोमबार बिहान ७ः४५ बजेको समयमा कर्रा खोला तर्न ह्युम पाईप राखेर बनाएको कल्भर्ट (लच्का) मा पानीको बहाव एक्कासि बढ्न गई सिमेन्ट उद्योगमा चुन ढुङ्गा खसालेर फर्कदै गरेको उक्त ट्रकका चालकसहित बगाएको थियो ।
ट्रक चालक चितवन रत्ननगर नगरपालिका १३ का वर्ष ३४ का दीपक थिङ पौडिएर आफै निस्किनुभएको थियो ।
हेटौँडा उपमहानगरपालिका १७ का वडा सदस्य नवराज न्यौपानेले सिमेण्ट उद्योग र प्रहरीको सहयोगमा उपकरण प्रयोग गरी ट्रक निकालिएको बताउनुभयो ।
उहाँले उक्त स्थान वर्षायाममा पासो जस्तै बनेको भन्दै हरेक वर्ष वर्षाको समयमा सवारी साधन खोलाले बगाउने र मानवीय क्षतिसमेत हुने गरेको बताउनुभयो ।
उहाँका अनुसार शिवम् सिमेण्ट उद्योगले बनाएको लच्काको विकल्पमा पक्की पुल निर्माण वा रेलिङ राख्न आग्रह गर्दा सुनुवाई नभएका कारण भौतिक र मानवीय क्षति हुँदै आएको छ ।




