काठमाडौँ, भदौ ६ गते। राष्ट्रपति रामचन्द्र पौडेलले समाजमा धेरै परिवर्तन आइसकेको भन्दै मान्छेले मिठो खान, राम्रो लगाउन चाडपर्व नै कुर्नु पर्ने अवस्थाको अन्त्य होस् भनेरै हामीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको बताउनुभएको छ ।
शीतल निवासमा शुक्रबार आयोजित तीजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालको संविधान, ऐन र नियमावलीमा महिला सम्बन्धमा धेरै हक अधिकारको व्यवस्था भइसकेको र अब प्रभावकारी कार्यान्वयनमा हामीले ध्यान केन्द्रित गर्न जरुरी रहेको बताउनुभयो ।
राष्ट्रपति पौडेलले संस्कृति तथा चाडपर्वले देशको मौलिकता कायम गर्ने हुनाले यसको संरक्षण, सम्वद्र्धन र निरन्तरतामा लागिरहनुपर्ने बताउनुभयो ।
विगतका दिनमा असार श्रावणमा खेतीपातीमा व्यस्त रहने महिलाहरू भाद्र महिनामा पर्ने यस चाड आएपछि घरबाट बिदा लिएर माइती जाने र मिठो खाने तथा राम्रो लगाउने गरेर यो चाड मनाउने गरेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो– ‘त्यस्तै, घरमा पाएका दुःख, कष्ट र बुहारतनका विषयमा गीतको माध्यमद्वारा आफ्नो वेदना पोख्दथे ।’




