खासकुरा संवाददाता
हेटौँडा, भदौ १४ गते । रोटरी क्लब अफ हेटौँडाले अपाङ्गता भएका महिलाहरूको लागि अचार उत्पादन तथा वित्तीय साक्षरता सम्बन्धी सशक्तिकरण कार्यक्रम शुरु गरेको छ । समान अधिकार, समान अवसर–सबैको लागि भन्ने नाराका साथ आयोजित यस कार्यक्रमको उद्देश्य अपाङ्गता भएका महिलाहरूलाई सीप, अवसर र आत्मनिर्भर बन्ने वातावरण प्रदान गर्नु हो ।
हेटौँडामा शुक्रबारबाट सुरुभएको १० दिने तालिमलाई प्रशिक्षक सूचना पराजुलीले प्रशिक्षण दिनु हुने छ । कार्यक्रम अन्तर्गत सहभागी महिलाहरुलाई विभिन्न तरकारी, फलफूल तथा स्थानीय सामग्री प्रयोग गरी अचार उत्पादन गर्ने प्रविधि, सरसफाइ र गुणस्तर मापदण्ड सम्बन्धी तालिम दिइने छ । तालिमपछि उत्पादनलाई बजारमा कसरी प्रस्तुत गर्ने, प्याकेजिङ, ब्रान्डिङ र ग्राहकसम्म र्पुयाउने रणनीति पनि सिकाइने भएको । यसबाट महिलाहरूलाई घरमै बसेर आयआर्जन गर्न सक्ने वातावरण सिर्जना गर्दछ ।
हेटौँडा उपमहानगर पालिकाका प्रमुख मीनाकुमारी लामाले तालिमको उद्घाटन गर्दै तालिमले महिलाहरूलाई आर्थिक आत्मनिर्भरता, योजनाबद्ध सोच र भविष्यमा आफ्नो व्यवसायलाई विस्तार गर्ने क्षमता प्रदान गर्न योग्य बनाउने बताउनुभयो ।
तालिम अवधिमा वित्तीय साक्षरता सम्बन्धी सिकाई प्रदान गरिने छ । सहभागी महिलाहरूलाई बैंक खाता खोल्ने प्रक्रिया, बचत गर्ने तरिका, सानो लगानीलाई कसरी वृद्धि गर्ने, ऋण व्यवस्थापन, आय–व्यय अभिलेख राख्ने कौशललगायतका विषयमा प्रशिक्षण दिईनेछ ।
कार्यक्रमले अपाङ्गता भएका महिलाहरूलाई आत्मविश्वासीसँगै उनीहरूलाई परिवार र समाजमा सम्मानित स्थान दिलाउने विश्वास गरिएको छ ।




