बागमती प्रदेशमा डेङ्गु सङ्क्रमण बढ्दै

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ २२ गते ।
बागमती प्रदेशमा पछिल्लो समय डेङ्गु रोगको सङक्रमण बढ्दै गएको छ ।
पछिल्लो २४ घण्टामा यस प्रदेशमा ५८ जना डेङ्गु रोगको सङक्रमित थपिएका छन् । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८ जना सङक्रमित थपिएसँगै यस प्रदेशमा गत जनवरी महिनादेखि शुक्रबारसम्ममा डेङ्गु रोग सङक्रमितको सङ्ख्या प्रदेशभरमा चार हजार ८८२ जना पुगेको छ । यस्तै बागमती प्रदेशमा डेङ्गु रोग सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या छ जना पुगेको छ ।
मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालका अनुसार ललितपुर र धादिङ जिल्लाका दुई–दुई जना तथा मकवानपुर र काभ्रेपलाञ्चोकका एक–एक जनाको डेङ्गु रोग सङ्क्रमणबाट मृत्युभएको छ । प्रदेशका १३ वटै जिल्लामा डेङ्गु रोगको सङक्रमण फैलिएको छ ।
यस प्रदेशमा गत जनवरी यता सबैभन्दा बढी डेङ्गु रोग फैलिएको धादिङ जिल्लामा हालसम्ममा तीन हजार ३२ जनामा डेङ्गु रोग सङ्क्रमण भएको छ । यसैगरी काठमाडौँमा ४५८, ललितपुरमा २७४, भक्तपुरमा १६८, नुवाकोटमा सय, रामेछापमा ४३, चितवन २६९, मकवानपुरमा ४१३, काभ्रे ५८, सिन्धुली ३२, रसुवा छ, दोलखा १५ र सिन्धुपाल्चोकमा १४ जनामा डेङ्गु सङ्क्रमण भएको छ ।

ताजा समाचार

Related Articles