खासकुरा संवाददाता
हेटौँडा, भदौ १६ गते । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नं. ३ च्यानडाँडाबाट बेवारिसे अवस्थामा गाँजा बरामद गरेको छ ।
गाँजा बोकी आउँदै गरेको सात–आठ जनाले प्रहरीलाई देख्ना साथ गाँजाको भारी फाली जंगल तर्फ भागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जंगलको बाटोमा गाँजा ल्याउँदै छ भन्ने सूचना प्राप्त हुनसाथ उक्त स्थानमा सोमबार बिहान प्रहरी चौकी बसामाडी लेवटबाट प्रहरी टोली गएकोमा प्रहरीलाई देख्ना साथ सोही स्थानमै गाँजाको भारी फाली जंगलतर्फ भागेको प्रहरीको भनाई छ । प्रहरीले बरामद गरिएको गाँजा २१२ किलो ८६० ग्राम रहेको र फरार रहेका व्यक्तिहरुको खोजी कार्य जारी रहेको जनाएको छ ।

यस्तै प्रहरीले आइतबार हेटौँडा उपमहानगरपालिका वडा नं. ७ मिलनचोकबाट वडा नं. ५ का समिर महतलाई लागूऔषधसहित पक्राउ गरेको छ । ३२ वर्षीय महतको साथबाट ट्रामाडोल १० क्यापसुल र खैरोहेरोईन चार ग्राम ९६० मिलिग्राम फेला परेको प्रहरीको भनाई छ । महतलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट लागूऔषध मुद्दामा म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।




