काठमाडौँ, भदौ २१ गते । नेपाल सरकारले सामाजिक सञ्जाल निष्क्रिय बनाउने निर्णय गरेसँगै पत्रकारहरु आन्दोलित बनेका छन् ।
सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको भन्दै प्रतिबन्धविरुद्ध पत्रकारहरुद्वारा प्रदर्शन गरिने भएको छ । नेपाल पत्रकार महासंघका पूर्वपदाधिकारी र पूर्वकेन्द्रीय सदस्यहरूले आइतबार दिउँसो २ बजे काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन आह्वान गरेका हुन् ।
नेपाल पत्रकार महासंघका पूर्वपदाधिकारी र पूर्वकेन्द्रीय सदस्यहरूले शनिबार विज्ञप्ति जारी गर्दै बन्द गरिएका सामाजिक सञ्जाल तत्काल खुला गरी अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको सम्मान गर्न माग गरेका छन् ।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल, गोविन्द आचार्य, कार्यवाहक अध्यक्ष रमेश विष्ट, पूर्व उपाध्यक्षद्वय उदय जिएम र खिलबहादुर भण्डारी, पूर्व महासचिव रोशन पुरीलगायतका २२ जनाद्वारा संयुक्त रुपमा विज्ञिप्त जारी गर्दै सामाजिक सञ्जालको नियमनका लागि सरोकारवाला निकाय तथा विज्ञहरूको सहभागितामा अध्ययन कार्यदल गठन गरी दीर्घकालीन र विधिसम्मत समाधान खोज्न सरकारलाई आह्वान गरिएको छ ।
प्रेस स्वतन्त्रता र नागरिक अधिकारको रक्षाका निम्ति आफूहरू सधैँ प्रतिबद्ध रहने प्रतिबद्धता जनाउँदै विज्ञप्तिमा भनिएको छ, “सरकारद्वारा फेसबुक, एक्स, युट्युबलगायतका सामाजिक सञ्जालहरूमाथि लगाइएको प्रतिबन्धप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।”
दर्ता नभएको बहानामा सामाजिक सञ्जालमाथि लगाइएको यो प्रतिबन्धले नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि गम्भीर आघात पुगेको विज्ञप्तिमा उल्लेख छ ।
सरकारको कदमले लोकतान्त्रिक मूल्य–मान्यता र नागरिक स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ, “सरकारको कदमले विदेशमा रहेका लाखौँ नागरिक र उनको परिवारबीचको सम्पर्क टुटाएको मात्र छैन, बालबालिकाको सिकाइमा दीर्घकालीन रूपमा प्रभाव पर्ने देखिएको छ । हजारौँ व्यक्तिको रोजीरोटी समेत बन्द भएको छ,”।
नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई निषेध गर्ने कार्य लोकतन्त्रमा किमार्थ स्वीकार्य हुन नसक्नेसमेत विज्ञिप्तमा भनिएको छ । साथै विरोध प्रदर्शनमा सहभागी हुन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरलाई आग्रह गरिएको छ । विज्ञप्ति –




