हेटौँडा, साउन २५ गते । मकवानपुरको बागमती गाउँपालिका ९ बेतिनी अगौटेबाट एक थान पेस्तोल र उक्त पेस्तोलको म्यागजिनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अगौटेस्थित एक घरमा पेस्तोल लुकाएर राखिएको विशेष सूचनाका आधारमा सोमबार जाँचका क्रममा १९ वर्षिय टेकबहादुर सिङतानको घरबाट पेस्तोल बरामद भएको हो ।
बालुवा–सिमेन्टले बनेको जस्ताले छाएको दुईतले घरको माथिल्लो तलाको चोटामा रहेको जेब्रा झोलाभित्र रातो टी–सर्टले बेरेर रातो प्लास्टिकमा लुकाइराखेको अवस्थामा ‘नं. ०१७११०’ लेखिएको एउटा पेस्तोल र उक्त पेस्तोलको एउटा म्यागजिन बरामद गरिएको हो ।
उक्त घटना सम्बन्धमा सिङ्तानलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बागमती गाउँपालिका ९ अगौटे घर भई हाल काठमाडौँ महानगरपालिका ७ चाबहिल बस्ने निज सिङ्तानले अवैध रूपमा हातहतियार लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका ३१ मिनभवनमा फेला पारी सोधपुछ गर्दा हतियार घरमा लुकाई राखेको बताएका थिए ।
तत्काल इलाका प्रहरी कार्यालय फापरबारी, मकवानपुरसँग समन्वय गरी घरमा खानतलासी गर्दा मोडल नाम नखुलेको खाली म्याग्जिनसहितको पेस्तोल बरामद गरिएको थियो । निजलाई नियन्त्रणमा लिइ हातहतियार खरखजाना सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट दिन चारको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दान बहादुर थापाले जानकारी दिनुभयो ।




