राष्ट्रियताका लागि लोकतन्त्रवादी एक हुनुपर्छः कोइराला

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ २४ गते ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रियतालाई बलियो बनाउन लोकतन्त्रवादीहरु एक हुनुपर्ने बताउनुभएको छ ।
बिपी विचार समाज, मकवानपुरले आइतबार हेटौँडामा आयोजना गरेको आजको परिवेशमा बिपी विचारको सान्दर्भिकता विषयक विचार गोष्ठीमा बिपीको विचारलाई छोड्दा राष्ट्रियतासँगै देशको अवस्था सुदृढ हुन नसकेको बताउनुभयो ।
कांग्रेस नेता कोइरालाले बिपीको विचारलाई जिवन्त राख्न कांग्रेस कार्यकर्ता इमानदार हुनुपर्ने बताउँदै बिपीको विचार र सिद्धान्त अनुसार पैसा नभएकाले पढ्नबाट वञ्चित हुनु नपर्ने, सुरक्षा पाउनुपर्ने र सामाजिक न्यायमा पहुँच हुनुपर्ने बताउनुभयो ।
उहाँले देशमा अहिले दण्डाहीनात बढेको बताउँदै कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमण लोकतन्त्रमाथि भएको आक्रमण हो भन्नुभयो । उहाँले धार्मिक र जातीय विखण्डनले द्वन्द्व सिर्जना गर्ने बताउँदै उहाँले भन्नुभयो हामी सबैले अहिले सामाजिक सद्भाव बढाउनेतर्फ लाग्नुपर्छ ।
बिपी विचार समाज मकवानपुरका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामा तामाङ, कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ, कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, चितवन कांग्रेसका सभापति राजेश्वर खनाललगायतले बिपीको विचारको अहिलेका सान्दर्भिकताका बारेमा बोल्नुभएको थियो । ।
यसैबिच नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले हेटौँडा उपमहानगरपालिका ११ सरस्वतीस्थित बिपी बाटिकामा निर्माण गरिएको बिपी कोइरालाको अर्धकदको सालिक अनावरण गर्नुभएको छ ।
बिपी विचार समाज, मकवानपुरको आयोजनामा आइतबार भएको कार्यक्रममा नेता कोइरालाले नेपाली कांग्रेसका संस्थापक एवं पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका बिपी कोइरालाको सालिक अनावरणसँगै बिपी द्वाराको उद्घाटन गर्नुभएको हो ।

ताजा समाचार

Related Articles