लोकतन्त्रलाई समाजवादीको लोकतन्त्र बनाउनुपर्छः प्रम

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ २४ गते ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकको आन्दोलनबाट प्राप्त लोकतन्त्रलाई समाजवादीको लोकतन्त्र बनाउनुपर्ने बताउनुभएको छ ।
समाजवादी मोर्चा नेपालको आयोजनामा हेटौँडामा आइतबार भएको सन्देश सभामा बोल्दै उहाँले समाजवादीको लोकतन्त्र बनाउन मोर्चा एक भएर लाग्नुपर्ने बताउनुभयो ।
सरकारले सुशासन र परिवर्तनको पक्षमा काम गरेको बताउँदै सरकारको कामबाट परिवर्तन विरोधीहरु आत्तिएको बताउनुभयो ।
यो लोकतन्त्रलाई सामन्तवादी र बुर्जुवालाई जिम्मा लगाउने पक्षमा छैनौ भन्दै उहाँले भन्नुभयो अहिले प्राप्त गणतन्त्रलाई हामी अब जनता, श्रमजीवी र समाजवादीको गणतन्त्र बनाउनेतर्फ लाग्नुपर्छ ।
अहिलेको मोर्चा कम्युनिष्ट विभाजित मात्र होइन एक पनि हुनसक्छन् भन्ने सन्देश दिन पुष्टि गर्ने अवसर पनि भएको बताउँदै उहाँले कम्युनिष्टहरु एक हुनुपर्ने अवस्था आएको छ, विभाजनले काम हुँदैन र विभाजनको पिडा र अनुभवपनि हामीसँग त्यसको आधारमा अब हामी एक हुनुको विकल्प छैन भन्नुभयो ।
उहाँले धार्मिक अतिवादीहरुले टाउको उठाएको र जातीय दङ्गा उठाएर परिवर्तनलाई
उल्ट्याउने प्रयास भएको भन्दै सरकार भ्रष्टाचार विरुद्धको अभियानमा रहेको बताउनुभयो ।
सन्देश सभामा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालले अगाडि भन्नुभयो, नागरिक पक्षमा सरकारले सुरु गरेका कामप्रति एक थरी असन्तुष्ट रहेको र पछिल्लो भ्रष्टाचार विरोधी अभियानको विरुद्धमा उनीहरु लागेका छन्।
प्रधानमन्त्री दाहालले भन्नुभयो मोर्चाको यो पाँचौ सभा भएकोले यहाँसम्म आईपुग्दा मोर्चामा संलग्नहरुको जागरुकता र सक्रियता बढेको छ यसले देशभर नयाँ शक्ति निर्माण भएको देखिएको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानमा साथ रहेको बताउनुभयो ।
उहाँले अहिले बनेको मोर्चा सत्ता स्वार्थका लागि नभएर देश र जनताको पक्षमा काम गर्नका लागि भएको बताउनुभयो ।
कार्यक्रममा नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’ ले जनताको चाहना र आवश्यकता अनुसर सरकारले गर्ने काममा सडकबाट साथ रहने धारणा राख्दै मोर्चा अहिलेको आवश्यकता भएको बताउनुभयो ।
जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाले सरकारले भ्रष्टाचार विरुद्ध सुरु गरेको अभियानले सुशासनमा सहयोग पुग्ने भन्दै अभियानलाई सफल बनाउन साथ रहने बताउनुभयो ।

ताजा समाचार

Related Articles