खासकुरा संवाददाता
हेटौँडा, असोज १ गते । जेनजी (युवा पुस्ता) बाट भएको प्रदर्शनको क्रममा ज्यान गुमाउनेहरुको सम्मानमा बुधबार मकवानपुरका विभिन्न स्थानमा दीप प्रज्ज्वलन गरिएको छ ।
हेटौँडाको बुद्धचौक, कांग्रेस चोक, भीमफेदी बजारलगायतका स्थानमा दीप प्रज्ज्वलन भएको छ । मकवानपुर निर्माण व्यवसायी संघ, उद्योग संघ मकवानपुरका, नारायाणी यातायात व्यवसायी संघ, निर्माण व्यवसायी संघ मकवानपुर र मकवानपुर होटल एसोसियसनले बुद्धचोकमा तथा नेपाल तरुण दल, मकवानपुरले कांग्रेस चोकमा दीप प्रज्ज्वलन गरेको हो ।
तरुण दलले आयोजना गरेको दीप प्रज्ज्वलनमा कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, सचिव ईश्वर पाठकलगायतको उपस्थिति रहेको थियो ।
यस्तै, भीमफेदीका जेष्ठ नागरीक शिक्षाविद् बुद्धिजिवी केश नारायण मुल्मीको सभाध्यक्षतामा भीमफेदीमा श्रद्धान्जलि कार्यक्रम सम्पन्न गरिएको छ ।
यसैबिच मृतकको सम्मान स्वरुप बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा सार्वजनिक बिदा दिएको थियो । साथै, राष्ट्रिय झण्डा पनि आधा झुकाइएको छ । भ्रष्टाचार नियन्त्रण, सुशासन तथा पारदर्शिताको माग गर्दै जेनजी पुस्ताले भदौ २३ र २४ गते राजधानीमा प्रदर्शन गरेका थिए ।




