जनमतका दुई मन्त्रीको राजीनामापछि थप अन्योल

लोकप्रिय

जनकपुरधाम, असोज १ गते । मधेश प्रदेश सरकारमा नेतृत्व गरेका जनमत पार्टीका दुई जना मन्त्रीले राजीनामा दिनुभएपछि मधेश प्रदेशमा अन्योल सृजना भएको छ ।  मधेश प्रदेश सरकारमा सहभागी रहनुभएका जनमत पार्टीका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री ई. बसन्त कुशवाहा र वन तथा वातावरणमन्त्री सञ्जयकुमार यादवले राजीनामा दिनुभएको छ । गत भदौ २४ गते नै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा पत्र बुझाए पनि हिजो देखि चर्चामा आएको छ ।

देशलाई अस्थिर बनाएको वर्तमान राजनीतिक परिस्थिति बीच नयाँ पुस्ताका युवाहरूको आन्दोलन, उनीहरूको माग र भावनालाई आत्मसात् गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सङ्घीयतालाई सुदृढ बनाउन निरन्तर सङ्घर्ष र बलिदानका लागि तत्पर रहने र जनताको सेवामा सधैँ प्रतिबद्ध रहने उहाँहरू दुवै जनाले दिनुभएको राजीनामा पत्रमा उल्लेख छ । यसअघि भदौ २४ गते देशैभरि भएको जेनजी आन्दोलनका क्रममा मधेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले सामाजिक सञ्जाल फेसबुक मार्फत राजीनामाको घोषणा गर्नु भएको थियो । तर, आन्दोलन शान्त हुँदा उहाँले औपचारिक रुपमा राजीनामा दिन नमानेपछि जनमत पार्टीले गत शनिबार मुख्यमन्त्री सहित सरकारमा सहभागी आफ्ना मन्त्री फिर्ता बोलाइएको थियो ।

जनमत पार्टीका संसदीय दलका नेता मधेशलाल यादवले मुख्यमन्त्री सतिश कुमार सिंहलाई सरकारबाट फिर्ता हुनका लागि निर्देशन दिए पनि मुख्यमन्त्री सतिश कुमार सिंह सरकार नछाड्ने र फिर्ता पनि नहुने सङ्केत गरेपछि थप अन्योल सृजना भएको छ ।  मधेश प्रदेश सरकारमा मुख्यमन्त्री सहित २ जना जनमत पार्टीका मन्त्री रहेका थिए । यसै गरि सरकारमा नेकपा एमालेका ४ जना तथा नेपाली काँग्रेसका ४ जना तथा लोकतान्त्रिक समाजवादी पार्टीका १ जना मन्त्रीपरिषद्मा रहेका छ ।

नेकपा एमालेका तर्फबाट भौतिक पूर्वाधार विकास, स्वास्थ्य तथा जनसङ्ख्या, गृह, सञ्चार तथा कानून तथा युवा तथा खेलकुद मन्त्रालय रहेका छन् भने नेपाली काँग्रेसका तर्फबाट अर्थ, ऊर्जा, सिँचाइ तथा खानेपानी, भूमि व्यवस्था,कृषि तथा सहकारी र श्रम तथा यातायात र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका तर्फबाट शिक्षा तथा संस्कृति मन्त्रालय लिएर सरकारमा रहेका छन् । मधेश प्रदेशमा रहेका नेकपा एमाले तथा नेपाली काँग्रेसले अहिलेको अवस्थामा सरकारको परिवर्तनको कुरा उपयुक्त नभएको र वर्तमान मुख्यमन्त्री सतिश सिंहलाई नै निरन्तरता दिने पक्षमा रहेको छ ।

ताजा समाचार

Related Articles