खासकुरा संवाददाता
हेटौँडा, असोज २ गते । हेटौँडा उपमहानगरपालिका १५, भोर्लेस्थित श्री आधारभूत विद्यालयमा “श्री आधारभूत विद्यालय विद्यार्थी कल्याण छात्रवृत्ति स्वर्ण अक्षयकोष” स्थापना गरिएको छ । विद्यालयमा लामो समय सेवा गरी निवृत्त हुनुभएका स्व. शिक्षक कृष्ण गोपाल कार्कीको सम्झनामा उहाँकी धर्मपत्नी कमला कार्कीले बिहीबार कोष स्थापनार्थ सहयोग गर्नुभएको हो ।
कार्कीले एक लाख १५१ र समाजसेवी प्रमिला ढकालले ५१ हजार रुपियाँ सहयोग कोषमा उपलब्ध गराउनुभएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष कुमार भोम्जनको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर बम्जनले हेटौँडा उपमहानगरपालिकाभित्रको विद्यालय भएता पनि भौतिक पूर्वाधारको कमी र वर्षायाममा छानो चुहिने समस्याका बिच गुणस्तरीय शिक्षण सिकाइ निरन्तर अघि बढिरहेको बताउनुभयो । उहाँले आगामी मंसिर १७ गते विद्यालयको ५० औँ स्थापना दिवस (स्वर्ण जयन्ती) मा सहयोगी परिवार र व्यक्तिहरूलाईसम्मान गरिने बताउनुभयो ।
विद्यालयमा हाल कक्षा १ देखि ८ सम्मका आर्थिक रूपमा विपन्न परिवारका बालबालिकाहरू अध्ययनरत छन्। कार्यक्रममा स्व. कार्कीकी छोरी प्रविणा कार्की, रिद्धी–सिद्धी सिमेन्ट उद्योगका महानिर्देशक रेवन्त ढकाल, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–अभिभावक संघका प्रतिनिधि, शिक्षक, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो।
