खाँ पिहाँवइगु जात्रा सम्पन्न

लोकप्रिय

भादगाउँ (भक्तपुर),  असोज १७ गते । दसैँको एघारौँ दिन आज पापाङकुश एकादशीको दिन मध्यपुरथिमिमा मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवइगु (खाँ निस्कने) जात्रा सम्पन्न भएको छ । तत्कालीन राजदरबारका रुपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवजलगायत मल्लकालीन युद्धमा प्रयोग हुने साधन बोकेर युद्धकला प्रदर्शन गर्दै उक्त जात्रा सम्पन्न गरिएको हो ।

दरबारसँग सम्बन्धित फरक समुदायलाई सहभागी गराइने खाँ पिहाँवइगु जात्रामा गुठीयारले जामा लगाई खड्ग, ढाल र तरबार हातमा बोकेर नगरका विभिन्न टोलमा युद्ध गरे जस्तै गरी तत्कालीन युद्धकला प्रदर्शन गरेका छन् । लायकु दरबारबाट निकालिने यो जात्रालाई थहनेया टोल (माथिल्लो टोल)का रूपमा इनाएटोल, दुईपोखरी हुँदै दिगु भैरवसम्म र कोहनेया टोल (तल्लो टोल)का रूपमा दथुटोल हुँदै बालकुमारीसम्म प्रदर्शन गरिएको थियो ।

जात्रामा दसैँको नवमीमा तलेजु भवानीलाई चढाइएको बलि र कोतभित्र अवस्थित देवता तथा दरबारको राजदण्डसमेत लिएर नगर परिक्रमा गराइएको छ । विशेष गरी यो जात्रामा नायः पःमां (तत्कालीन दरबारका प्रशासक, श्रेष्ठ थरका), कर्माचार्य, जोशी, कुटु, प्याथः (प्रजापति), खड्गी समुदायको प्रत्यक्ष संलग्नता रहने गर्दछन् ।

जात्रामा महानवमीको राति तलेजुमा बलि दिइएको खःम्येको (राँगाको) टाउकोलाई समेत नगर परिक्रमा गराई प्रदर्शन गरिन्छ । जात्राका अवसरमा बालकुमारीमा भूइँफर्सी (कुभिन्डो) मार हानेर बलि दिइन्छ । बलि दिइएको कुभिन्डो प्रसादको रुपमा लिए रोगबाट बच्न सकिने जनविश्वास रहेकाले कुभिन्डो लिनेको भीड लाग्ने गर्दछ ।

जात्राको अन्तिममा भूइँफर्सी मार हान्ने भएकाले यसलाई भूइँफर्सी पालेगु जात्रा पनि भन्ने गरिएको स्थानीय अर्जुन श्रेष्ठले जानकारी दिनुभयो । जात्रा अवलोकनका लागि स्थानीयदेखि विभिन्न ठाउँबाट आएकाहरुको ठूलो भीड लागेको थियो ।

ताजा समाचार

Related Articles