मकवानपुरबाट फरार करिब दुई सय कैदीबन्दी पक्राउ गर्न बाँकी

लोकप्रिय

खासकुरा संसाददाता
हेटौँडा, असोज २३ गते । गत भदौमा भएको जेनजीको विद्रोहको क्रममा भीमफेदी कारागारबाट भागेका करिब दुई सय कैदीबन्दी अझै कारागार फर्किएका छैनन् ।
फरार बन्दी खोजी तथा पक्राउ कार्यदल, मकवानपुरले चेतावनीसहित फरार कैदीबन्दीलाई सम्पर्कमा आउन तोकेको समयसीमा गुज्रिदासमेत अझै भीमफेदी कारागारका गरी १९१ जना कैदीबन्दी फरार रहेका हुन् ।
गत भदौ २५ गते जेनजीको विद्रोहको क्रममा मकवानपुरको भिमफेदीस्थित भीमफेदी कारागारमा रहेका एक नाबालक सहित एक हजार ६६ कैदीबन्दीमध्ये कारागारको ब्लक ‘क’ र ‘ख’ का गरी ४४० जना कैदीबन्दी कारागार तोडफोड गरेर फरार भएका थिए ।
भीमफेदी कारागारबाट फरार भएका कैदीबन्दीहरुलाई विभिन्न स्थानबाट सुरक्षा निकायले नियन्त्रणमा लिएपनि सबै कैदीबन्दी फेला नपरेपछि मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित उक्त कार्यदलले यही असोज १२ गते फरार कैदीबन्दीलाई समयसीमा तोकेर कारबाहीको चेतावनीसहित सम्पर्कमा आउन सूचना जारी गरेको थियो ।
कार्यदलले भदौ २५ गते भीमफेदी कारागारबाट फरार भई फर्किन बाँकी रहेका कैदीबन्दीलाई असोज २० गते सोमबारसम्ममा कारागारमा फर्की आउन सूचना जारी गर्दै सो समयभित्रमा फर्की नआएमा कारागार ऐन २०७९ र अन्य प्रचलित कानुन बमोजिम थप सजाय हुने चेतावनी दिएको थियो ।
कार्यदलका सदस्यसचिव समेत रहनुभएका कारागार प्रशासक सुवास पौडेलले सूचना
जारी भएपछि असोज १२ गतेदेखि मंगलबार बिहान ६ः०० बजेसम्ममा ३५ जना कैदीबन्दी सम्पर्कमा आएको जानकारी दिनुभयो ।
उहाँले भीमफेदी कारागारबाट फरार भएकामध्ये १९१ जना कैदीबन्दी सम्पर्कमा आउन बाँकी रहेको बताउनुभयो ।
भिमफेदी कारागारबाट फरार भएका कैदीबन्दीमध्ये हालसम्म १०५ जना आफै सम्पर्कमा आएका छन् ।
देशका विभिन्न कारागारबाट फरारभएका कैदीबन्दीहरु पक्राउ गर्ने क्रममा एक जना अनुसन्धानमा रहेकासहित अन्य कारागारबाट फरार भई पक्राउ परी भीमफेदी कारागार ल्याइएका कैदीबन्दी ६८ जना रहेका छन् । यस्तै मकवानपुरबाट हालसम्म ३१६ जना कैदीबन्दी सुरक्षाकर्मीले फक्राउ गरेका कारागार कार्यालय, भिमफेदीले जनाएको छ ।
यसअघि कारागारहरुबाट भागेका विभिन्न मुद्दाका कैदीबन्दीहरुलाई नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएका हुन् ।

ताजा समाचार

Related Articles