काठमाडौँ, असोज २६ गते । आइसिसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया क्षेत्र छनोटको सुपर सिक्सअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले युएईलाई पराजित गरेको छ । नेपाल १ रनले विजयी भएको हो ।

जितका लागि नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याउने क्रममा युएईले पूरै ओभर खेलेर जम्मा १३९ रन मात्र बनायो । ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमीतर्फ–१ मा जारी खेलमा ‘टस’ जितेर पहिले ‘ब्याटिङ’ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रनको योगफल बनाएको थियो । नेपालका लागि आसिफ शेखले अर्धशतक प्रहार गरे ।

उनले ४७ बलमा चार चौका र एक छक्काको सहयोगमा ५१ रन बनाए । त्यस्तै कुशल भुर्तेलले २८, कप्तान रोहितकुमार पौडेलले २० र गुल्सन झाले १४ रन जोडे । बलिङतर्फ युएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले एक÷एक विकेट लिए ।
