हेटौँडा, कात्तिक १ गते । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीका कारण अहिलेको विषम् अवस्था सिर्जना भएको बताउनुभएको छ ।
हेटौँडा–४ स्थित भैरवरोडमा रहेको पार्टी कार्यालयमा मकवानपुरका अगुवा कार्यकर्ताहरुसँग शनिबार भेटघाटको क्रममा अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो ।
पार्टी जिल्ला उपाध्यक्ष ध्रुवबहादुर भुजेलको सभाध्यक्षतामा भएको भेटघाट कार्यक्रममा पार्टी केन्द्रीय अध्यक्ष नेपालले चुनावको तयारी गर्न निर्देशन दिनुभयो । अध्यक्ष नेपालले राज्य विषम् परिस्थितिमा रहेकोले सिंगो नेपाली जनता चनाखो भएर बस्नुपर्नेमा जोड दिनुभयो । उहाँले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा अन्य शक्तिहरुले घुसपैठ गरी देशका महत्वपूर्ण संरचनाहरुमा आगजनी, तोडफोड, मानिस मार्ने काम भएको भन्दै यो अत्यन्त निन्दनीय रहेको बताउनुभयो ।
अध्यक्ष नेपालले केपी ओलीको घमण्डले देशमा विषम् परिस्थिति सिर्जना भएको दाबी गर्दै देशलाई यस्तो अवस्थामा पु¥याइए पनि ओलीको दम्भ नघटेको बताउनुभयो । पार्टी एकताको सवालमा मसिनोढंगले गृहकार्य भइरहेको भन्दै उहाँले जेनजीका जायज माग पूरा हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा पार्टी केन्द्रीय उपमहासचिव रामकुमार भट्टराई, स्थायी कमिटी सदस्य नागेन्द्र चौधरी, पोलिट्ब्युरो सदस्य घनप्रसाद गौतम, केन्द्रीय सल्लाहकार यादब गजुरेल, प्रदेश सदस्य माधब तिमल्सिना, पार्टी जिल्ला सचिव किशोर बर्तौला र युवा नेता किशोर टण्डनलगायतको उपस्थिति थियो ।



