गोरखा, कात्तिक ९ गते । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा जान सबै दलहरू सहमत भएको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले आज गोरखामा राखेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन पछि पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले पछिल्लो समय नेकपा एमाले समेत निर्वाचन समयमै गर्नुपर्ने पक्षमा रहेको बताउनुभएको हो । ‘नयाँ दलहरू पनि दर्ता भएका छन्, निर्वाचन निक्कै उत्साहका साथ हुने देखिएको छ,’ संयोजक प्रचण्डले बताउनुभयाे । ‘माओवादीले देशैभरी निर्वाचन जित्ने भयो भन्ने डर दलहरूलाई भएकाले हामी भाग लिन्नौ भन्दै आएका थिए । सरकारको काम निर्वाचनको वातावरण बनाउने हो, दलहरू निर्वाचनको तयारीमा जुटिसकेका छन्’ उहाँले बताउनुभयाे ।

जेनजी आन्दोलन माओवादीको योजनामा भयो भन्छन् यसमा कति सत्यता छ भन्ने प्रश्नमा उहाँलेऽ हामीले आन्दोलनको नेतृत्व गर्न पाएको भए धेरै राम्रो हुन्थ्यो, त्यसो भएन, तर जेनजी आन्दोलनले हामीले उठाएका मागहरू नै अघि सारेकाले यो आन्दोलनप्रति हाम्रो ऐक्यबद्धता रहेको बताउनुभयो ।

अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरू समेत नेपालमा निर्वाचन होस् हामी सहयोग गर्छौँ भनिरहेका छन् । सरकारले त्यसको तयारी पनि गरिरहेको छ, यस कारण निर्वाचन नहुने भन्ने हल्ला निर्वाचन विरोधीहरूले फैलाएको प्रचण्डकाे भनाई छ । तपाईँको पार्टी एकता प्रक्रिया कहाँ पुग्यो भन्ने प्रश्नमा, उहाँले कम्युनिष्ट घटकहरूसँग छलफल भइरहेको तर कुरा नटुङ्गिएको बताउनुभयो ।




