निर्वाचनको विकल्प छैनः संयोजक प्रचण्ड

लोकप्रिय

चितवन, कात्तिक १० गते ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिस्थितिलाई सम्हालेर शान्तिपूर्ण निर्वाचनमार्फत देशलाई समृद्धिको बाटोतर्फ लैजानुको विकल्प नरहेको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग उहाँले पछिल्लो समय देशमा उत्पन्न परिस्थितिलाई सहज बनाउन पनि निर्वाचनको विकल्प नभएकाले सबै त्यसमा होमिनु पर्नेमा जोड दिनुभयो ।

संयोजक दाहालले निर्वाचन सफल पार्नु पार्टीको पहिलो कार्यभार भएकाले पार्टीको तल्लो तहसम्मका नेता कार्यकतालाई निर्वाचनको तयारीमा लाग्न निर्देशन दिइएको बताउनुभयो । उहाँले भन्नुभयो, “चुनाव हुन्छ वा हुँदैन भन्ने होइन । चुनावको विकल्प छैन । त्यसैले पार्टी यसको तयारीमा लागि सकेको छ”,उहाँले भन्नुभयो,“मैले नेपाली कांग्रेसलगायत दलका नेताहरूसँग पनि निर्वाचनको विकल्प नरहेको विषयमा कुराकानी गरिरहेको छु । चुनावको वातावरण बनाउन हामी सबै लागौँ । सरकार चुनावको वातावरण बनाउन लागेको मैले अनुभूति गरेको छु ।”

संयोजक दाहालले अन्य कुरामा नअल्मलिएर निर्वाचनमा केन्द्रित हुन सरकारलाई आग्रह गर्नुभयो । यस्तै, समाजवादी मोर्चामा रहेका पार्टीहरूसँग एकताका लागि छलफल सकारात्मक भएको उहाँको भनाइ थियो । “यही हप्ताभित्र मोर्चाभित्र रहेका दलबीच एकता हुने वा नहुने निष्कर्ष आउँछ । यसबाहेक मधेसवादीसहितका दल र  माओवादी मिलेर निर्वाचनमा जाने सम्भावना पनि छ”, संयोजक दाहालले भन्नुभयो ।

ताजा समाचार

Related Articles