ऋषेश्वर र त्रिखण्डी मन्दिरमा मेलाको तयारी

लोकप्रिय

हेटौँडा, कात्तिक १३ गते । हरिबोधनी एकादशीका लाग्ने मेलाका लागि मकवानपुरको ऋषेश्वर महादेव मन्दिर र त्रिखण्डी महादेव मन्दिरमा विशेष तयारी थालिएको छ ।
हरेक वर्ष हरिबोधनी एकादशीका दिन मकवानपुरको शिवालयहरुमा मेला लाग्दै आएको छ ।

यही शनिबार थाहा नगरपालिका वडा नं. ४ मा अवस्थित ऋषेश्वर महादेव मन्दिर र भीमफेदी गाउँपालिकाको भैंसेस्थित धार्मिकस्थल त्रिखण्डी मन्दिरमा लाग्ने एकादशी जात्रामा मन्दिर आसपासको क्षेत्रमा माछामासु र मदिराको प्रयोग एवं बिक्री वितरण निषेध गरिएको छ ।
ऋषेश्वर महादेव मन्दिरमा लाग्ने ठूली एकादशी जात्रालाई सुव्यवस्थित रूपमा सञ्चालन गर्न समिति गठन गरी जिम्मेवारी तोकिएको छ ।

परम्परागत रूपमा पाण्डुकेश्वर महादेवको मुकुट ऋषेश्वर लैजाने ल्याउने व्यवस्थाका लागि पाण्डुकेश्वर क्षेत्र विकास समितिका सदस्य कमल केसीलाई जिम्मेवारी दिइएको छ । मेलाको पूर्व तयारीमा भएको ‎बैठकमा थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टले स्वयंसेवक परिचालनदेखि मन्दिर भेटी संकलन, बजार व्यवस्थापनलगायतका कार्य एकद्वार प्रणालीबाट गर्नुपर्ने बताउनुभयो ।
ऋषेश्वर क्षेत्र विकास समितिका अध्यक्ष विनोद लामाको अध्यक्षतामा बसेको बैठकमा नगर उप–प्रमुख भरत गोपालीले जात्राको सञ्चालनमा समितिले प्रभावकारी भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिनुभयो। बैठकले इलाका प्रहरी कार्यालय पालुङ र नगर प्रहरीलाई ट्राफिक व्यवस्थापन र सुरक्षाको जिम्मेवारी दिने निर्णय गरेको छ ।

यस्तै त्रिखण्डीमा लाग्ने मेलामा मन्दिर परिसरमा आउने भक्तजनको व्यवस्थापनमा नेपाल प्रहरी र ट्राफिक व्यवस्थापनका लागि आग्रह गरिनेभएको छ ।
मेलाको लागि मन्दिर परिसरको सरसफाईसँगै खोला पारिको मन्दिरमा जान अस्थाई पुलको निर्माण कार्य भईरहेको छ ।
त्रिखण्डी मेला संचालन तथा व्यवस्थापन गर्न युगेन तामाङको अध्यक्षतामा, सचिव अस्मिता गोले, कोषाध्यक्ष सोनाम छिरिङ्ग भोम्जन, सदस्यहरु लक्ष्मण दाहाल, नारायण स्याङतान, राधिका रोग्मी मगर, सुजता रुचाल मगर, रमेश कुमार थिङलगायत रहेको समिति गठन गरिएको छ ।

ताजा समाचार

Related Articles