मुख्यमन्त्री जम्कट्टेलद्वारा कृषि फार्मको शिलान्यास

लोकप्रिय

हेटौँडा, भदौ २६ गते ।

मकवानपुरगढी गाउँपालिका –५ स्थित सानोसुकौरामा एकीकृत कृषि फार्म तथा पशुपालन तालिम केन्द्र निर्माण हुनेभएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले माइती नेपालले निर्माण र सञ्चालन गर्ने एकीकृत कृषि फार्म तथा तालिम केन्द्र भवनको मङ्गलबार मकवानपुरको मकवानपुरगढी गाउँपालिका –५ सानोसुकौरामा शिलान्यास गर्नुभयो ।

माइती नेपालले द कोकाकोला फाउण्डेशनसँगको सहकार्यमा ६५ रोपनी जग्गामा एक करोड ९२ लाख रुपियाँको लागतमा आवासीय सुविधासहितको तालिम केन्द्र, कृषि तथा पशुपालन फार्म निर्माण गर्न लागिएको हो । 

भवन शिलान्यास गर्दै मुख्यमन्त्री जम्कट्टेलले केन्द्र निर्माणले मानव बेचबिखन रोकथाम र महिला अधिकार प्रबर्धनसँगै ग्रामीण, कृषि र आर्थिक विकासमा सहयोग गर्ने बताउनुभयो । 

कार्यक्रममा प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तान, नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बाँनिया र माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले एकीकृत कृषि फार्म तथा तालिम केन्द्रले एकीकृत खेती, कृषि तालिम र कृषि पर्यटनको संयोजन गरेर महिलालाई आर्थिक रूपमा सशक्तिकरण गर्न सहयोग पुग्ने बताउनुभयो । 

मानव बेचबिखनमा परेका र पर्न सक्ने सम्भावित समुदाय, क्षेत्रका जोखिम उन्मुखलाई तालिम दिइ समाजमा पुनस्र्थापना गर्ने उद्देश्यसहित एकीकृत कृषि फार्म तथा पशुपालन तालिम केन्द्र स्थापना गर्न लागेको माइती नेपालले जनाएको छ ।

आवासीय सुविधासहितको तालिम केन्द्र निर्माण गर्न सुकौरा एग्रो प्रालिले माइती नेपाललाई सो जग्गा १० वर्षका लागि निःशुल्क उपलब्ध गराएको छ । एकीकृत कृषि फार्ममा तालिम हलसहित ग्रीन हाउस, हाइटेक नर्सरी, आधुनिक बाख्रा, कुखुरा र गाईपालन गरिने जनाइएको छ ।

ताजा समाचार

Related Articles