एमालेले छाडेका मन्त्रालय कांग्रेसका बिना विभागीय मन्त्रीलाई

लोकप्रिय

खासकुरा संवाददादाता
हेटौँडा, साउन ७ गते । बागमती प्रदेश सरकारमा मन्त्रीपरिषद्मा कार्यविभाजनसँगै नेपाली काग्रेसका बिना विभागीय मन्त्रीहरुले मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
नेपाली कांग्रेस नेतृत्वको सरकार बुधबार नेकपा एमालेले छाडेसँगै रिक्त रहेको तीन वटा मन्त्रालयमा मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको सिफारिशमा कांग्रेसका बिना विभागीय मन्त्रीहरुलाई बिहीबार जिम्मेवारी दिइएको हो ।
मुख्यमन्त्री बानियाँको सिफारिश बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम कार्यविभाजन गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
मन्त्रीरिषद्मा भएको कार्य विभाजन अनुसार बिना विभागीय मन्त्रीहरु उर्मिला नेपालले कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय, सुरेश श्रेष्ठले उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय र विनु रायमाझी पौडेलले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
कांग्रेसबाट शिवराज अधिकारीले आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, कन्चनचन्द्र बादेले स्वास्थ्य तथा सामाजिकमन्त्री, प्रभात तामाङले आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्णकुमार तामाङले खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
कांग्रेस नेतृत्वको सरकारमा एमालेबाट छ जना मन्त्री रहनुभएको थियो ।
प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउने निर्णय साउन १ गतेबाट कार्यान्वयनमा आएसँगै कांग्रेस र एमालेका तीन जना बिना विभागीय रहेका थिए ।
सरकारमा एमालेबाट कृषि, पशुपन्छी वन तथा वातावरण मन्त्री मधुसूदन पौडेल, उद्योग, पर्यटन श्रम तथा यातायातमन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकासमन्त्री डा दिनेशचन्द्र देवकोटा रहनुभएको थियो ।
यस्तै साउन १ गतेबाट मन्त्रालयको सङ्ख्या घटेसँगै बिना विभागीय मन्त्री भएको जयराम थापालाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय अन्तर्गत श्रम, रोजगार तथा यातायात विषय, मन्त्री किरण थापा मगरलाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य विषय र मन्त्री भरतबहादुर केसीलाई कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय अन्तर्गत वन तथा वातावरण विषय हेर्ने गरी मुख्यमन्त्री बानियाँले जिम्मेवारी तोक्नुभएको थियो ।
बागमती प्रदेशमा १४ मन्त्रालय रहेकोमा साउन १ गतेबाट सङ्ख्या घटाएर आठ कायम गरिएको छ ।

ताजा समाचार

Related Articles