खासकुरा संवाददाता
हेटौँडा, साउन ७ गते । बागमती प्रदेश सरकारले जनताका गुनासा मुख्यमन्त्रीसम्म सिधै पुग्ने, तत्काल सुनुवाइ र अनुगमन गर्ने प्रयोजनका लागि ‘हेलो सिएम’ सुरु गरेको छ । मुख्यमन्त्री कार्यालयमा स्थापना गरिएको ‘हेलो सिएम’ को मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले बिहीबार एक कार्यक्रमका बिच गुनासोको सुनुवाई गर्दै शुभारम्भ गर्नुभयो ।
बागमती प्रदेश सरकारले नागरिकका गुनासा, उजुरी तथा सुझावलाई तत्काल सुनुवाइ र कार्यान्वयन गर्ने उद्देश्यका साथ ‘हेलो सिएम’ सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको मुख्यमन्त्री कार्यालयका गुनासो सुन्ने अधिकारी असिम घिसिङ लामाले जानकारी दिनुभयो ।
मुख्यमन्त्री बानियाँले ‘हेलो सिएम डेस्क’ को शुभारम्भ गर्दै प्रदेश सरकारलाई नागरिकप्रति थप उत्तरदायी, पारदर्शी र सेवामुखी बनाउने अभियानको सुरुआत गरिएको बताउनुभयो ।
प्रदेशवासीले दैनिक जीवनमा भोग्ने समस्या, गुनासा र उजुरी अब सिधै मुख्यमन्त्री कार्यालयसम्म पुग्ने र तिनको प्रभावकारी सुनुवाइ तथा कार्यान्वयन सुनिश्चित गरिने छ मुख्यमन्त्री बानियाँले भन्नुभयो, जनताको आवाज सरकारसम्म सहज रूपमा पु¥याउन र सेवा प्रवाहलाई परिणाममुखी बनाउने उद्देश्यले ‘हेलो सिएम’ सञ्चालनमा ल्याइएको हो ।
‘हेलो सिएम’ मा प्राप्त हुने गुनासाहरूको प्रकृति अनुसार सम्बन्धित मन्त्रालय, विभाग वा निकायमा तत्काल पठाइने मुख्यमन्त्री कार्यालयले जनाएको छ । प्राप्त उजुरीहरूको समाधान प्रक्रिया नियमित रूपमा अनुगमन गर्ने र कार्यान्वयनमा आवश्यक समन्वय र सहजीकरणसमेत गरिने व्यवस्था गरिएको गुनासो सुन्ने अधिकारी लामाले बताउनुभयो ।
मुख्यमन्त्री कार्यालयसँग प्रत्यक्ष सम्बन्धित विषयहरू भने सोही कार्यालयबाट सिधै सम्बोधन गरिने भएको छ । मुख्यमन्त्री बानियाँले सो क्रममा आएको सडक सम्बन्धी गुनासोलाई उच्च प्राथमिकतामा राखेर छिटो समाधान गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका मन्त्रीहरु, सचिवहरुलगायतको उपस्थिति रहेको थियो ।




