नेम्वाङको निधनबाट मर्माहित भएको छुः प्रदेश प्रमुख शर्मा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ २६ गते ।
संविधानसभा अध्यक्ष, नेकपा (एमाले) का उपाध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य सुवासचन्द्र नेम्वाङको निधनप्रति बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुःख व्यक्त गर्नुभएको छ ।
प्रदेश प्रमुख शर्माले नेम्वाङप्रति श्रद्धान्जली व्यक्त गर्दै मङ्गलबार विहान हृदयघातका कारण नेम्वाङको निधनको खबरले आफूलाई अत्यन्त मर्माहत तुल्याएको बताउनुभएको छ । शोक वक्तव्य जारी गर्दै प्रदेश प्रमुख शर्माले संविधानसभा अध्यक्ष नेम्वाङको निधनबाट मुलुकले एक कुशल सांसद एवम् असल, मृदुभाषी, समन्वयकारी नेता गुमाएको उल्लेख गर्नुभएको छ । प्रदेश प्रमुख शर्माद्वारा मङ्गलबार जारी शोक वक्तव्य भनिएको छ, ‘यस दुखद् घडीमा सरल नेता नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’ साथै, प्रदेश प्रमुख शर्माले नेम्वाङकी जीवन सङ्गिनी तथा नेम्वाङ परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
यसैबीच नेकपा एमाले मकवानपुरले एमालेका उपाध्यक्ष नेम्वाङका निधनमा शोक वक्तव्य जारी गर्दै हृदयघातका कारण भएको अकल्पनीय निधनले पार्टी जिल्ला कमिटी स्तब्ध भएको जनाएको छ । एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठद्वारा जारी शोक वक्तव्यमा कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलन एवं संविधान निर्माणमा अग्रणी भूमिका निर्वाह गर्नुभएका नेम्वाङको निधनले पार्टी र देशलाई अपुरणीय क्षति पुगेको उल्लेख गर्दै नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली र परिवारजनमा समेवेदना व्यक्त गर्नुभएको छ । साथै शोक वक्तव्यमार्फत शोकलाई शक्तिमा बदल्दै धैर्यधारण गर्न पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकलाई आव्हान गरिएको छ ।

ताजा समाचार

Related Articles